काभ्रे, ३१ वैशाख । डढेलोका कारण खानेपानी पाइप जलेर नष्ट भएपछि खानेपानीबाट वञ्चित भएका काभ्रेको डाँडागाउँ गाविसका अग्निपीडितलाई समाजसेवी दिलिप योञ्जन तामाङले सहयोग गरेका छन् । पाइप जलेर नष्ट भएसँगै करिब ३ घन्टाको बाटो धाएर खानेपानी ल्याउन बाध्य यहाँका बासिन्दालाई दिलिपले जलेर नष्ट भएका पाइप खरिदका लागि आर्थिक सहयोग गरेका हुन् ।
केही साताअघि राती अचानक लागेको डढेलोका कारण झन्डै ३ दर्जन सर्वसाधारणले उपभोग गर्दै आएको खानेपानीको ९ सय मिटरभन्दा बढी पाइप नष्ट भएको थियो । सो पाइप खरिद बराबरको २५ हजार रुपैयाँ रकम समाजसेवी योञ्जनले उपलब्ध गराएपछि यहाँका बासिन्दाको मुहारमा खुसी छाएको छ । बिहीबार राजधानीस्थित टेकुमा प्रभावित क्षेत्रका बासिन्दालाई भेटेर साहित्यकार बिना थिङ तामाङले योञ्जनले पठाएको रकमबाट पाइप खरिद गरी वितरण गरेकी थिइन् । प्रभावित क्षेत्रका वासिन्दाले योञ्जन र थिङलाई धन्यवादसमेत ज्ञापन गरेका छन् । राजधानी नजिकको जिल्ला भएर पनि विकासका पूर्वाधारबाट निकै पछाडि रहेको डाँडागाउँका अग्निपीडितलाई योञ्जनले सहयोग गरेपछि यहाँका बासिन्दाले खानेपानीको उपयोग गर्न पाउने भएका छन् ।
सञ्चारकर्मी बुद्ध लोप्चनको आग्रहमा योञ्जनले आगलागीबाट नष्ट भएको पाइप खरिदका लागि साहित्यकार बिना थिङमार्फत सहयोग गरेका थिए । विनाशकारी भूकम्पका बेलासमेत राहत वितरणमा सक्रिय सहभागिता जनाएका योञ्जनले सो क्षेत्रका बासिन्दाका लागि पाइप खरिद गरी सहयोग गरेपछि यहाँका बासिन्दा घन्टौँको बाटो धाएर पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्ति पाउने देखिएको छ । उक्त क्षेत्रका बासिन्दा विगतदेखि नै खानेपानीको सेवाबाट वञ्चित छन् ।
प्रतिक्रिया