परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउन निर्देशन

काठमाडौं, ३० वैशाख । संसद्को राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ ।
नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरूपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको आजको बैठकले निर्देशन दिएको हो ।

राज्यको प्रतिनिधिका रूपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको अविलम्ब पदपूर्ति गर्न आयोगका तर्फबाट लिइनुपर्ने पहलकदमीका लागि समेत समितिले आयोगलाई भनेको छ । राज्यबाट हुने सेवा प्रवाहलाई जनतासमक्ष पु¥याउने गाविस सचिवहरूको लामो समयदेखि पदपूर्ति हुन नसकेकामा समितिले आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको समितिको बैठकले भूकम्पबाट भत्किएका आयोगका भौतिक संरचना पुनर्निर्माण गर्न आयोगबाट औचित्यसहित माग भएको बजेट तत्कालै उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ ।

यसअघि समितिको बैठकमा आयोगका अध्यक्ष उमेश मैनालीले आयोगको भावी कार्ययोजना तयारी र परीक्षा प्रणाली सुधारको सोचलगायत विषयमा जानकारी दिएका थिए । सो अवसरमा आयोगका तर्फबाट नवीन प्रविधि अपनाउने सिलसिलामा सबै दरखास्त अनलाइनमार्फत लिने, हुलाक कार्यालयमार्फत दस्तुर बुझाउन सकिने तथा शाखा अधिकृतलगायत पदमा प्रथम चरणको परीक्षा उत्तीर्ण हुनेलाई मात्र अन्य परीक्षामा सामेल गराउने व्यवस्था गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया