मानवअधिकारकर्मी सम्मानित

kavreकाभ्रे, २९ वैशाख । मानवअधिकारकर्मी भोजराज तिमल्सिनालाई बुधबार पाँचखालमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको छ । कालिदेवी एकल महिला समूह पाँचखालले आफ्नो दोस्रो वार्षिक साधारणसभाको अवसरमा तिमल्सिनालगायत १५ जनालाई सम्मान गरेको हो ।

‘आपत परेको समयमा कहाँ जाने ? कसलाई भेट्ने ? र कसरी न्याय प्राप्त हुन्छ ? भनेर भौतारिएको अवस्थामा जिल्लाका धेरै एकल महिलाहरूको पक्षमा उभिएको’ भन्दै समूहले तिमल्सिनालाई सम्मान गरेको हो । कार्यक्रममा तिमल्सिनाबाहेक पाँचखालका विभिन्न राजनीतिक दलका १४ जना अगुवाहरूलाई सम्मान गरिएको छ ।

सभामा प्रमुख अतिथि एकल महिला समूहकी संस्थापक केन्द्रीय अध्यक्ष लिली थापा र पाँचखाल नपाका कार्यकारी अधिकृत वासुदेव भेटुवाललगायत विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले बोलेका थिए । सभाको अध्यक्षता संस्थाकी अध्यक्ष सरिता शाहीले गरेकी थिइन । सभामा पाँचखाल क्षेत्रका करिव १ हजार ५ सय महिलाको उपस्थिति थियो ।

०६३ सालमा स्थापना भएको कालिदेवी एकल महिला समूह पाँचखालले बाख्रापालन, च्याउखेती र मैनबत्ती बनाउने तालिम सञ्चालनका साथै एकल महिलालाई आत्मनिर्भर बनाउन ऋण प्रवाह पनि गर्दै आएको छ । स्थानीयहरू भन्दै थिए, पाँचखालमा यत्ति धेरै महिला जुटेको सम्भवतः पहिलोपटक होला । कार्यक्रमपश्चात् एकल महिलाहरूलाई बाख्रा वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया