पानी परेपछि किसानलाई राहत

बाजुरा, २९ वैशाख । केही दिन अघिदेखि परेको पानीले बाजुराका अधिकांश गाविसमा किसानलाई राहत दिएको छ । पानी परेपछि यहाँका किसान उत्साहित भएका छन् । यो क्षेत्रमा ४० वर्षअघि देखिएको खडेरीमा जस्तै यसपालि पनि बाली सखाप पार्ला भनेर अत्तालिएका किसान गत हप्ताबाट पानी पर्न थालेपछि वर्षे बालीको बिउ राख्ने हतारोमा जुटेका छन् ।

‘गएको भदौदेखि पानी नपर्दा जमिन सुख्खा भएको थियो,’ खडेरीका बेला पानी परेपछि निकै खुसी भएका जुकोट–२ का दलबहादुर शाही भन्छन्, ‘अहिले आकाशले हाम्रो विन्ति सुनेजस्तो छ । सुख्खा माटो भिज्ने गरी पानी परेको छ ।’ पानी परेसँगै बिहानैदेखि उनलाई खेतबारी जोत्न भ्याइनभ्याई छ ।

जिल्लाका दक्षिणी भेगमा ४ दिनदेखि बेलुकीतिर दिनको २ घन्टा पानी परिरहेको छ । यसको सदुपयोग गरी यहाँका कृषकहरू वर्षे बालीका लागि बीउ उमार्ने काममा व्यस्त देखिन्छन् । तर, सदरमुकामबाट पूर्वी–उत्तर भेगमा पर्ने ११ गाविसमा भने अझै पानी पर्न सकेको छैन । पानी नपर्दा बीउ उमार्न नपाइने हो की भन्ने चिन्ता लागेको वाई–५ का कर्णवीर बुुढाले बताए ।

वर्ष यामका लागि धान, कोदोको बिउ राख्न र पाखो जग्गामा मकै, फापर, चिनो कागुनो लगाउने काम ४ दिनयता चलेको छ । बिउ उम्रनको लागि पानी आउने हो होइन भन्नेमा आफूहरूलाई अन्योलता रहेको तोली गाविसका हिमाल शाहीले बताए ।

जिल्लामा सिँचाइ सुबिधा नभएका कारण हरेकवर्ष आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । जिल्लाको कूल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको कृषि कार्यालय बाजुराले जनाएको छ ।

पानीका मूल नफुटेकाले खोलानालामा पानी सुकेपछि सिँचाइ कुलोमा पानी नभएको कोल्टी–३ का प्रदीपराज जोसीले बताए । खडेरीका कारण बाजुरामा साँढे १६ करोड रकम बराबरको खाद्यान्न उत्पादन क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार १६ करोड ७२ लाख बराबरको खाद्यान्न बाली नोक्सानी भएको हो ।

खडेरीबाट १३ गाविस बढी प्रभावित बनेका छन् । २४ गाविस र १ नगरपालिकामध्ये विच्छ्याँ रुगिन, वाई, साप्पाटा, जुकोट, गोत्री जगन्नाथ, बाँधु, डोगडी मानकोट काँडा, जयवागेश्वरी र दहकोट गाविसमा बढी क्षति भएको कृषि विकास कार्यालयका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । सूचना अधिकारी भट्टले दिएको जानकारीअनुसार खडेरीले कुल उत्पादनको आधा बढी क्षति भएको अनुमान छ । हिउँदे बालीअन्तर्गत गहुँ ४९ दशमलव ५१ प्रतिशत, जौ ६० दशमलव ३२ प्रतिशत, मुसुरो, ६३ दशमलव ९८ प्रतिशत, तेलहन ७८ दशमलव ०७ प्रतिशत क्षति भएको छ ।

यहाँ उत्पादन हुने तरकारीलगायत दलहन बालीको उत्पादनमा पनि कमी आएको छ । खडेरीबाट ७ हजार ७ सय १ परिवारका ४३ हजार १ सयजना प्रत्यक्ष प्रभावित बनेका छन् । २ हजार ७ सय ११ दशमलव १ हेक्टर क्षेत्रफलमा लगाएको खाद्यान्न बालीमा क्षति पुगेको कृषि विकास कार्यालयले बाजुराले जनाएको छ ।

उत्पादन आधा भएपछि यहाँका स्थानीयलाई जीवन निर्वाह गर्न असहज भएको छ । अघिल्लो वर्ष ३६ करोड बराबरको हिउँदे बाली उत्पादन भएकोमा यसवर्ष देखिएको खडेरी नोक्सान हुने देखिएको जिल्ला कृषि कार्यालयका सूचना अधिकारी भट्टले बताए ।

जिल्लालाई प्रत्येक वर्ष २८ हजार बढी मेक्ट्रिक टन खाद्यान्न आवश्यक हुनेमा ९ हजार बढी खाद्यान्न बाहिरबाटै ल्याउनुपर्ने बाध्यता छ । तर, यो वर्ष खाद्यान्न उत्पादनमा झनै ह्रास आएपछि दोब्बरले खाद्यान्न आवश्यक पर्ने कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा भएको पानीको स्रोत प्रयोग हुने गरी हरेकवर्ष बन्ने सिँचाइ योजना बनाउने हो भने धेरै खडेरीको समस्या नआउने जिल्लामा खाद्य सुरक्षाका लागि काम गर्दै आएको संस्था एचआरसी बाजुराका जेटिए लयलाल विकले बताए ।

प्रतिक्रिया