यमनमा सरकार र विद्रोहीबीच प्रत्यक्ष वार्ता

कुवेत सिटी, २८ वैशाख । यमन सरकारका प्रतिनिधि र विद्रोही पक्षबीच सोमबार प्रत्यक्ष वार्ता भएको समाचार छ । गएको ५ दिनदेखि शान्तिवार्ताका लागि भन्दै कुवेतमा जम्मा भएका यी पक्षहरूबीच सोमबार प्रत्यक्ष वार्ता भएको यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले जानकारी दिएका छन् ।

उनले गएको ५ दिनदेखि अवरुद्ध भएको वार्ता सोमबार भने त्रिपक्षीय सहमतिमा सम्पन्न भएको भन्दै आगामी दिनमा यसले सहमतिको मार्गप्रसस्त गर्ने अपेक्षा गरिएको बताए । विशेष प्रतिनिधि इस्माइल अल्ड चेख अहमदले गतहप्ता ३ वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको र उनीहरूले सोमबार आआफ्ना तर्फबाट सहमतिका प्रयासका प्रस्तावहरू प्रस्तुत गरेको जानकारी दिए । उनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘३ वटा कार्यदल गठन गरिएको छ र यसले आआफ्ना प्रस्ताव प्रस्तुत गरेका छन् ।’

विशेषगरी यी पक्षले राजनीतिक र अन्य सुरक्षाका विषयमा छलफल भएको जानकारी उनले दिए । सो वार्ताका क्रममा दुवै पक्षबाट आआफ्ना कैदी बन्दीको रिहाइको माग दुवै पक्षबाट भएको थियो । गएको ५ दिनदेखि वार्ता अवरुद्ध भएपछि अहिलेसम्मको प्रयासलाई बचाउन र शान्तिवार्ताका लागि सबै पक्षबाट पहल गर्न संयुक्त राष्ट्रसंघले सोमबार आग्रह गरेको थियो । सोही आग्रहपछि सोमबार अबेरतिर यो वार्ता भएको हो । संयुक्त राष्ट्रसंघले यस वार्ताको अगुवाई एवं मध्यस्थता गरिरहेको जानकारी दिइएको छ ।

विशेष दूत इस्माइलले कुवेतमा गतहप्तादेखि शान्ति वार्ताका लागि निकै प्रयत्नहरू भएका तर दुवै पक्षबीच आइतबार हुने भनेको वार्ता पनि हुन नसकेपछि दुवै पक्षलाई निराश नहुन आग्रह गरेका थिए । विशेष दूत इस्लामी आउल्ड चेइख अहमदले वार्ताका लागि करिब २ महिनाअघिदेखि युद्धविराम जारी रहेको र त्यसका कारण वातावरण निर्माण भइरहेको भन्दै यसका लागि आवश्यक सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेका हुन् ।

यमनमा सरकार र विद्रोही शान्तिवार्ताका लागि तयार भएर गएको अप्रिल महिनाको १० तारिखदेखि त्यहाँका विद्रोही युद्धविराम गर्न तयार भएका थिए । यो वार्ताका लागि साउदी अरेबिया सरकारले प्रयत्न गरेको थियो र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले विशेष अगुवाई गरिरहेका छन् । यसअघि अनौपचारिक रूपमा सरकार र विद्रोही पक्षले वार्ता गरेका भए पनि आजका मितिसम्म पनि यमनमा सकारात्मक काम भने हुन सकिरहेको छैन ।

युद्धविराम भंग भएको पनि छैन र वार्ताको प्रयासले मूर्त रूप लिन पनि सकिरहेको छैन । सरकारले भने विभिन्न स्थानमा सेनामाथि हमला गरेर हुथी विद्रोही र उसका अन्य समूहरूहरूले आक्रमण गरिरहेको भन्दै वार्तामा नबस्ने बताउँदै आएको थियो । यमनमा गएको १३ महिनादेखि हिंसा जारी छ । हिंसाका क्रममा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन् । यमनी हुथी विद्रोहीले यमनमा विद्रोह गरिरहेका छन् । उनीहरूलाई इरानको साथ रहेको छ ।

यसअघि वार्ताका लागि विद्रोही पक्ष नै तयार भएका थिए । उनीहरूले आफ्नो पहिलो कामका रूपमा दुवै पक्षबाट बन्दी बनाइएका व्यक्तिहरूको सूची आदानप्रदान गर्ने र उनीहरूलाई रिहा गर्नेसम्मको सहमति भएको थियो । तर, यमनका कतिपय स्थानमा हिंसा मच्चिएपछि त्यसको जिम्मेवारी विद्रोहीले लिनुपर्ने भन्दै सरकारले वार्तामा नबस्ने बताएको हो ।

सुरक्षा अधिकारीले पनि सरकारी निर्णयको स्वागत गरी हुथीको विद्रोह जारी रहेकोले वार्ताको औचित्य नभएको बताएका थिए । साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१४ को सेप्टेम्बरदेखि विद्रोहीको कब्जामा रहेको यमनी राजधानी सानालाई फिर्ता लिएको थियो । यमन सरकारलाई साउदी अरेबियाको सरकारको साथ रहेको छ ।

प्रतिक्रिया