यौन दुर्व्यवहारको आरोपमा चार जना पक्राउ

खोटाङ, २८ वैशाख । होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुर्व्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुर्व्यवहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिनारायण रिजाल, पत्नी कोपिलादेवी रिजाल, छोरा कविराज रिजाल,  र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका हरिप्रसाद, कविराज र तिलकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । कोपिलादेवीलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रनाउ माझीले जानकारी दिए । मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारबाही प्रक्रिया थाल्न लिखित निर्देशन दिएपछि उनीहरुलाई प्रहरीले सोमबार राती पक्राउ गरेको हो । दोषीमाथि उजुरी नपरेको भन्दै प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएपछि आयोगले सोमबार बेलुका घाजाँच केश फारमलाई फस्ट इन्फमेसन रिपोर्ट (एफआइआर) मानेर दोषी उपर किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्न प्रहरीलाई भनेको थियो ।

आमाछोरीमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्त रुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुर्व्यवहारका घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीउपर कारबाही प्रक्रिया अघि बढाएको हो ।

मिलापत्र गराएर सोमबार राजधानी काठमाडौं पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्रहरीको संरक्षणमा राखिएको छ ।

उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितबिरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुर्व्यवहारको घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो ।

घाजाँच केश फारमका लागि पीडित महिलाले वैशाख–२१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन आशयले जिस्क्याउने, संवेदनशील अंग छुने प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख गरिएको छ । यस्तै, कविराजले समेत संवेदनशील अंग छुने प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगी नांगो बनाएर यौनांग सुमसुम्याउने र वैशाख–१४ गते यौनांगमा टोकेर घाउसमेत बनाइ दिएको प्रहरीमा दिइएको निवेदनमा उल्लेख छ ।

होटलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा कोपिलादेवीको आदेशमा वैशाख–११ गते राती कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको पीडित महिलाले बताएकी छिन् । काठमाडौं माइती भएकी पीडित महिला २०६९ साल मंसिरमा विवाह गरेर खोटाङ आएकी हुन् ।

पतिले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख–६ गतेदेखि कारुपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य बनेकी हुन् । आफन्त नभएकै कारण उनी बिचल्लीमा परेकी छन् ।

प्रतिक्रिया