किताब लेख्दा पत्रकारमाथि साइबर अपराधको आरोप !

bhadragolकाठमाडौं, २८ वैशाख । खोज तथा अनुसन्धानात्मक लेख तथा पुस्तक लेखेकै आधारमा पत्रकारलाई प्रहरीले थुनेको भन्दै तत्काल रिहाइको पहल गर्न किरात राई पत्रकार संघले मंगलबार विज्ञप्ति जारी गरेको छ । संघका संस्थापक सदस्य तथा पूर्वमहासचिव भद्रगोल किरातीलाई प्रहरीले खोज तथा अनुसन्धानात्मक लेख र पुस्तक प्रकाशन गरेकै कारण साइबर अपराधअन्तर्गत पत्रकार भद्रगोल किराती (मनोजकुमार राई) ३ दिनदेखि प्रहरी हिरासतमा राखेकोमा संघको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

किरातीलाई प्रहरीले हेनखामा हाङखिम र प्रेमकुमार राईको नामका व्यक्तिको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । उजुरीपछि २४ वैशाखमा पक्राउ गरेको थियो । सामान्य सोधपुछ गरी फेरि बोलाएको बेला सम्पर्कमा आउने शर्तमा उनलाई प्रहरीले त्यसै दिन छाडे पनि शनिबार भद्रगोलले आफ्नो खोजपूर्ण पुस्तक ‘गड होइन, ठग एन्जेल’ सार्वजनिक गरेपछि पुनः उनलाई आइतबार नियन्त्रण लिएको हो । उनलाई सोमबार ५ दिने म्याद थमाइको छ ।

करिब ३ महिनाअघि ‘ठग ओमनन्द’ (गड एन्जल) पुस्तिका सार्वजनिक भएपछि बहस सुरु भएको हो । सनातन समाजको संरचनालाई भड्काउनेदेखि खुलेआम रूपमा ‘प्रेमवादी’ धर्ममा लगाउने काम गरिएप्रति ध्यानाकर्षण गराइएको छ । राज्यका निम्ति धर्मगुरु होस् या सर्वसाधारण गरिब व्यक्ति समान हुन्छ । तर, भक्तकुमार राईले धर्मगुरुको भेषमा उनले लिएको नागरिकता, राहदानीसमेत फरक रहेको उजागर गरिएको छ । ती गड एन्जेलले केही वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दाबी गर्दै केही सञ्चारमाध्यमलाई झुक्काएर आफ्नो कुप्रचार गराउन सफल भएका थिए । तर, सरकारले हालसम्म ती व्यक्तिले सर्वोच्च शिरख आरोहण गरेको प्रमाण दिएको छैन ।

फोटोसपबाट अनेक किसिमका फोटो जोडेर हिउँको चुचुरोमाथि बसेको भ्रामक प्रचार गर्दैआएका छन् । तत्कालीन राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्रीसम्मलाई झुक्काएर आफूलाई ठूलो धर्मगुरुको माला पहिराएका थिए । र त्यही फोटो आफ्नो सर्वसाधारण भक्तहरुलाई देखाएर आश्वस्त तुल्याउने गरेको जनाइएको छ ।

त्यसैगरी धर्मको नाममा ‘स्वर्गिक मार्ग सघ नेपाल’ संस्थाबाट देश, विदेशमा धार्मिक क्रियाकलापका अतिरिक्त आर्थिक चलखेल गर्ने गरेको भन्ने छ । अनाथ आश्रम खोलेका छन् । त्यसनिम्ति विदेशमा रहेका भक्तहरुले आर्थिक सहयोग गर्दैआएका छन् । धार्मिक मिसनरीबाट पनि सहयोग बटुल्ने गरेको भन्ने आरोप छ । आफू र आफ्ना सहयोगीलाई महँगा गाडीमा सवार हुने गरेका छन् । धर्मको नाममा राज्यलाई ठग्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने भनिएको छ ।

कथित धर्मगुरुको क्रियाकलाप सार्वजनिक भएपछि पत्रकार भद्रगोलले आफूमाथि आएको धम्कीलाई लिएर गृह मन्त्रालयलाई निवेदन गरेका छन् । ‘उदयपुर जिल्ला मैनामैनी गाबिस– २ का बुवा जयबहादुर राईको छोरा ०३७ चैत १७ जन्मिएका सोही जिल्लाबाट नाप्र नं. ४६९३९र३०७८ का अनुसार भक्तकुमार राई ‘स्वर्गीकदूत सद्गुरु ॐनन्द’ का नाममा नागरिकता लिएको सो व्यक्तिबाट दर्ता भएको संस्थाबाट सुप्रिम मास्टर गड एन्जल भनेर सर्वसाधारणलाई भ्रममा पारी करोडाँै ठगी गरी रहेको छ,’ खुलापत्रमा भनिएको छ, ‘संसारभर आस्था र विश्वास गरिएका भगवान् भन्दा ठूलो म हुँ भनी पर्चा पोस्टर बनाइ सामान्य जादुटुना देखाई भ्रमित गरिरहेको छ । मैले उसको कार्यको विरोध गर्दै ‘ठग ॐनन्द गड् एन्जल’ भन्ने सानो पुस्तिका निकाल्दा उसका मतियारहरूबाट सामाजिक सन्जाल, टेलिफोनबाट जहाँ भेटिन्छ त्यही मार्ने सम्मको धम्की आएको छ ।’ पत्रकार किरातीले धम्की दिने व्यक्ति र टेलिफोन नम्बरसमेत उल्लेख गरेका छन् ।

‘स्वर्गीकदूत सत्गुरु ॐनन्द सुप्रिम मास्टर गड एन्जलको नामले ठगी धन्दा गरिरहेको छ,’ आवेदनमा भनेका छन्, ‘उसको आफ्नो प्रचारको लागि बनाएको पोस्टर नै हेर्दा पत्ता लाग्छ । श्रीमान्लाई सानो उनको बारेमा खोज गरी तयार पारिएको सामग्री र नमुनाको रूपमा एउटा उनको पोस्टर हेरी मनन गरीदिनु हुन अनुरोध गर्दछु ।’ स्वर्गीक मार्ग संघबाट भारतका फलामसिङ चाम्लिङ राईको हत्या भएको आरोपसमेत लगाइएको छ । तिनै फलामसिङकी पत्नी र छोराबाट गत शनिबार राजधानीमा ‘गड होइन, ठग एन्जेल’ पुस्तक सार्वजनिक गराइएको छ । पीडित परिवारले आफ्नो पीडा सार्वजनिक रूपमा बोलेको जनाइएको छ ।

प्रतिक्रिया