भूकम्पपीडितलाई मनसुन अगावै आवास

bukampapiditकाठमाडौं, २७ वैशाख । गतवर्ष वैशाखको भूकम्पबाट स्थायी आवास पूर्णरूपमा क्षति भई पालमुनि बसेका भूकम्पपीडितलाई अस्थायी वा संक्रमणकालीन आवास निर्माण गरिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास, संघीय मामिला तथा स्थानीय विकास र गृह मन्त्रालय एवं तीन वटै सुरक्षा निकायका अधिकारीको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न कारणले हालसम्म पनि पालमा बसोबास गरिरहेका भूकम्पपीडित घर परिवारलाई स्थायी आवास पुनर्निर्माण नहुँदासम्म बसोबास गर्न सक्ने गरी आवास निर्माण गर्न सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

‘प्राधिकरण, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति, सहरी विकास मन्त्रालय एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीच आवश्यक समन्वय गरी आगामी मनसुन अगावै अस्थायी आवासको व्यवस्था मिलाइनेछ’ उनले भने । यस कार्यको संयोजन र व्यवस्थापन जिल्लास्तरमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ ।

आफ्नै जग्गामा बसिरहेका घरपरिवारलाई सोही स्थानमा अस्थायी आवास निर्माण गर्न सहयोग पु¥याइनेछ । जग्गा नभएको कारण वा आफ्नो जग्गा असुरक्षित भई अन्यत्र (पालमुनि) बसोबास गरिरहेका घर परिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ । व्यक्तिगत वा सामूहिक आवासका नमुना ढाँचा सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ३ दिनभित्र तयार पार्ने प्राधिकरणले जनाएको छ । यसरी निर्माण गरिने सामूहिक आवास भवनको स्वामित्व सम्बद्ध गाविस वा नगरपालिकाको हुने गरी व्यवस्था मिलाइनेछ ।

व्यक्तिगत वा सामूहिक अस्थायी आवास निर्माण कार्यमा सघाउनका लागि ३ वटै सुरक्षा निकायमार्फत जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय राजनीनिक दल तथा विभिन्न संघसंस्थालाई स्वयंसेवक परिचालन गर्नका लागि बैठकले आह्वान गरेको छ । स्वयंसेवक परिचालनसम्बन्धी निर्देशिका ३ दिनभित्र तयार पारिने प्राधिकरणले जनाएको छ ।

पालमुनि बसिरहेका भूकम्पपीडित घर परिवारको वास्तविक संख्याको यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत गर्ने व्यवस्था मिलाइनेछ । यसमा सम्बद्ध गाविस वा नगरपालिकामा हालै खटिएका इन्जिनियरलाई समेत परिचालन गर्ने निर्णय समेत गरिएको छ । त्यसरी प्राप्त भएको तथ्यांकका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइसमेत परिचालन गरी निर्माण सामग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयंसेवकसहितको कार्ययोजना तयार पारिनेछ ।

कार्ययोजना यही वैशाख मसान्तसम्म प्राधिकरण एवं केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पठाइने व्यवस्था मिलाई आगामी ७ जेठेदेखि अस्थायी आवास निर्माण कार्य आरम्भ गरेर मनसुन अगावै सम्पन्न गर्ने व्यवस्था मिलाइने प्रवक्ता थपलियाले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास पुनर्निर्माणका लागि सुरक्षा निकायबाट जनशक्ति परिचालन गर्ने तथा मनसुनको समयमा सो क्षेत्रमा आउन सक्ने प्राकृतिक विपत्तिको आवश्यक तयारीका निम्ति केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठक बसी आवश्यक निर्णय लिइदिन गृह मन्त्रालयलाई अनुरोध गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया