सहुलियत ऋणप्रति विद्यार्थीको चासो

काठमाडौं, २७ वैशाख । स्नातकोत्तर तहमा अध्ययनरत गिरीशा लोहनीलाई सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ऋण दिने नीति राम्रो लाग्यो । ‘पढ्ने पढ्ने अनि अन्तिममा कमाउनका लागि विदेश नै जानुपर्ने बाध्यतालाई यसले अन्त्य गर्छ’ उनले भनिन्, ‘सरकारले ल्याएको यो नीति कार्यान्वयनमा आउन सक्यो भने एकदमै राम्रो हो ।’ तर कार्यान्वयनमा आउनेमा भने उनले शंका व्यक्त गरिन् ।

सरकारले आर्थिक वर्ष ०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने कार्यक्रम सार्वजनिक गरेपछि विद्यार्थीले कार्यान्वयनमा आशंका व्यक्त गर्दै भए पनि उत्साहित भने भएका छन् ।

नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले सो कार्यक्रम नेविसंघले पहिलेदेखि नै उठाउँदै आएको र पछि संयुक्त विद्यार्थी संगठनमार्फत उठाइरहेको माग सम्बोधन हुनु सकारात्मक भएको बताए । यति हुँदाहुँदै पनि यसको कार्यान्वयनमा शंका व्यक्त गर्दै उनले भने, ‘यो नीति तथा कार्यक्रम कार्यान्वयन गराउनभन्दा बढी प्रचारमुखी भएको छ ।’

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो व्यवस्थाले विद्यार्थीलाई पढ्न उत्साह दिने र शैक्षिक बेरोजगार विदेश पलायन नभई स्वदेशमै उद्यमी बन्ने अवसर प्रदान गर्ने बताए । उनले भने, ‘कोही विद्यार्थी पढेर स्वदेशमा नै उद्यमी बन्न चाहन्छ भने उसले त्यो अवसर पाउँछ । यो कार्यक्रम महत्वाकांक्षी छ, यसको कार्यान्वयनमा सबै विद्यार्थी संगठन सँगसँगै जानुपर्छ ।’

प्रमाणपत्र धितो राखेर स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई १० लाख, स्नातक तह उत्तीर्ण गरेकालाई ७ लाख र प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकालाई ५ लाख सहुलियत ऋण सुविधा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका थिए । सहुलियत ऋण लिन चाहने विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै नागरिकताको प्रमाणपत्रलगायत समावेश गर्नुपर्नेछ ।

प्रतिक्रिया