इलाम, २७ वैशाख । सशस्त्र द्वन्द्वका समयमा घटेका घटनाको छानबिनको माग गर्दै स्थानीय शान्ति समिति इलाममा ४२ वटा उजुरी दर्ता भएका छन् ।
जसमा १४ वटा हत्यासम्बन्धी, १० वटा विस्थापित, मानसिक तथा शारीरिक यातनाका ५, कारागार तथा हिरासत पीडित ५, अंगभंग तथा यातनाका ८, बेपत्ताका ५ र सम्पत्ति कब्जा तथा लुटपाटमा ३ वटा उजुरी दर्ता भएको शान्ति समितिका सचिव डिकेन्द्र इदिंगोले जानकारी दिए । उजुरी आउने क्रम अझै जारी रहेको समितिले जनाएको छ । वि.सं. १ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म भएका मानवअधिकार उल्लंघनका घटनाको उजुरी लिने कार्य हाल धमाधम भइरहेको समेत शान्ति समितिको कार्यालयले जनाएको छ ।
समितिले तत्कालीन विद्रोहीपक्ष र राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनाका उजुरी दर्ता गरी हरेक साता हुलाकमार्फत आयोगको केन्द्रीय कार्यालयमा पठाउने गरिरहेको सचिव इदिंगोले बताए ।
आयोगले सशस्त्र द्वन्द्वको समयमा भएका हत्या, अपहरण शरीर बन्धक, अंगभंग वा अपांग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड, आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै अमानवीय कार्य वा मानवताविरोधी घटनासम्बन्धी पीडितका उजुरी दर्ता गरिरहेको छ । विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधान २०६३ मा उल्लेख भएको ९ वर्षपछि बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई पीडितले भने उजुरी गर्दा सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै आएका छन् ।
आयोगले स्थानीय शान्ति समितिको कार्यालय अथवा सोझै आयोगको कार्यालयमा पीडितले चाहेअनुसार खामबन्दी, इमेल अथवा खुल्लैसमेत पनि उजुरी दिन आग्रह गरेको छ ।
प्रतिक्रिया