दक्षिणद्वारा उत्तरको प्रस्ताव अस्वीकार

सोल । २ कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाको सत्तारूढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए ।

राष्ट्रियरूपमा एकीकरणका लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रूपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्त गरेका थिए । उनले आफ्नो सम्बोधनमा भनेका थिए, ‘दुवै राष्ट्रले एकअर्काको सम्मान गर्नुपर्छ र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि एकआपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।’ तर, त्यस प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले हिजोको सो प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

उत्तरले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रूपमा नै लिइएको थियो । तर, सोमबार आएको दक्षिणको यस अभिव्यक्तिबाट भने यो अवस्था कायम रहन नसक्ने देखिएको समाचारमा जनाइएको
छ । (एजेन्सी)

प्रतिक्रिया