बिबिसी संवाददाता उत्तर कोरियाली थुनामा

सोल, २७ वैशाख । बिबिसीका एकजना संवाददाता उत्तर कोरियाली सुरक्षाकर्मीको थुनामा परेको समाचार छ । उनलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनलाई उत्तर कोरियाली कम्युनिस्ट पार्टीको कंग्रेसको समाचार संकलनका लागि आमन्त्रण गरिएको थियो । सो कार्यक्रम सकेर फर्किने बेलामा उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

उनलाई गएको ८ घन्टादेखि थुनामा राखिएको छ । उनले पठाएको उक्त कंग्रेसको समाचारका विषयलाई लिएर उनीमाथि छानबिन गरिएको बताइएको छ । बिबिसीका अरू पत्रकारसँगै उनी घर फर्किने तयारी गरिरहेका बेलामा उनलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार सो समाचारमा उनले सत्यतथ्य रिपोर्टिङ नगरेको भनी आरोप लगाइएको छ । सोही आधारमा उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताइन्छ ।

त्यस घटनामा र विशेषगरी विशिष्ट खालका राजनीतिक घटनामा समाचार संकलनका लागि उत्तर कोरियाली सरकारले विदेशी संवाददाता बोलाउने गर्दछ । तर, ती संवाददाताका लागि समाचार पठाउने विभिन्न कडा खालका नियम बनाउने गरिन्छ । ती नियमहरू पालना नगरी समाचार पठाउने गरिएमा ती संवाददातालाई पक्राउ गरी कारबाही गर्ने गरिएका घटना यसअघि पनि हुने गरेका छन् ।

यसपालिको उक्त पार्टी कंग्रेसको समाचार संकलनका लागि पनि विभिन्न देशबाट प्रतिनिधि आमन्त्रण गरिएको थियो । बिबिसीका पत्रकार रुपर्ट विङफिल्ड हेज पनि सोही आमन्त्रणमा उत्तर कोरिया पुगेका थिए । तर, उनले गरेको समाचार संकलनका विषयमा सरकारले प्रश्न उठाएको छ । समाचारदाताहरूका लागि यसअघि नै दिइएको कार्यादेशभन्दा बाहिर गएर समाचार पठाएको आरोप उनीमाथि लगाइएको छ ।

उनी र बिबिसीको समूह एक अस्पतालको भ्रमणमा गएका थिए । उनीहरू सो अस्पतालमा किन गएका हुन् भन्ने बारेमा प्रहरीले उनीमाथि प्रश्न गरिरहेको बताइएको छ । उनलाई प्रहरी हिरासतमा राखिएको नभई एक होटलमा नियन्त्रणमा राखिएको छ र उनले उक्त अस्पताल भ्रमण गरेका र त्यसका तस्बिरहरू लिइएका बारेमा प्रश्न गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया