काठमाडौं, २६ वैशाख । उपलब्धि वचत तथा ऋण सहकारीले आख्यान दिवसको आयोजना गरेको छ । विगत ३ वर्षदेखि मनाउँदै आएको आख्यान दिवसलाई सहकारीले निरन्तरता दिएको हो ।
सहकारीअन्तर्गत साहित्य विकास उप–समितिको संयोजनमा हरेक वर्ष २५ वैशाखलाई आख्यान दिवसका रूपमा मनाइँदै आएको छ । दिवसका अवसरमा आख्यानकार ध्रुवचन्द्र गौतमले आख्यानलाई सम्झिने र त्यसको विवेचना गर्ने दिनको रूपमा उपलब्धिले मनाउन सुरु गरेको आख्यान दिवसलाई राष्ट्रियस्तरमा मनाउन सके आख्यानको विमर्श बढ्ने बताए ।
कार्यक्रममा साहित्यकार एसपी कोइरालाले ‘खाडल’ शीर्षकको कथा वाचन गरेर सुनाएका थिए भने आख्यानकार जलेश्वरी श्रेष्ठले ‘मिसकल’ शीर्षकको कथा सुनाएकी थिइन् । यस्तै प्राडा खेम दाहालले उपन्याससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा विश्वसाहित्य र नेपालमा उपन्यास लेखनको सुरुआतदेखि विभिन्न कालखण्ड समेटिएका थिए ।
कार्यक्रममा साहित्यकार किशन थापा ‘अधिर’ले कथासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली कथा लेखनको शैली र यसभित्रका विकृती विसंगतीहरूलाई थापाले कार्यपत्रमार्फत चर्चा गरेका थिए ।
प्रतिक्रिया