नेटोआवद्ध दुई सैनिक मारिए

काबुल । दक्षिण अफगानिस्तानमा शनिबार भएको गोली प्रहारमा नेटोआबद्ध रिजोल्युट सपोर्ट सर्भिस (आरएस)का २ सदस्य मारिएका नेटोद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । दक्षिण अफगानिस्तानमा शनिबार बिहान अफगानिस्तानी सुरक्षाबलको पोसाकसँग ठ्याक्कै मिल्ने नक्कली पहिरनमा आएका २ सशस्त्रव्यक्तिले गरेको गोली प्रहारबाट ती नेटो सैनिक मारिएका थिए ।

गोली प्रहारको लगत्तैपछि आरएसका अन्य सदस्यहरुले जवाफी कारबाही गरी ती सशस्त्र व्यक्तिलाई मारेका बताइएको छ । अफगानिस्तानी र नेटोआवद्ध अधिकारीहरुले यस घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र अनुसन्धानको नतिजापश्चात् सत्यतथ्य प्रकाशमा ल्याउने जानकारी दिएका छन् । यस घटनामा मारिएका सदस्यद्वयको राष्ट्रियता र विस्तृत विवरण भने आरएसको नीति भन्दै खुलासा गरिएको भने छैन । गतवर्षको १ जनवरीबाट नेटोसँग आवद्व सैनिकले अफगानिस्तानमा विद्रोही आतंककारी वा सशस्त्र लडाकूसँग प्रत्यक्ष युद्ध नगर्ने तर अफगानिस्तानी सेनालाई उपलब्ध गराइरहेको तालिम, युद्धकला प्रशिक्षण वा अन्य सामरिक सहयोगलाई भने निरन्तरता दिने पूर्वशर्तअनुसार यहाँ नेटो तथा अमेरिकी सैनिक कार्यरत छन् ।

यस प्रकारको नेटो गतिविधिलाई आरएस मिसन नामाकरण गरिएको र यस मिसनअन्तर्गत करीब १३ हजार विदेशी सैनिक देशभर खटिइ रहेकासमेत बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया