सल्यान, २६ वैशाख । लामो समयसम्म गाउँमा शौचालय नबनेपछि लक्ष्मीपुर–४ का महिला गाउँमा अभियान नै थालेर त्यसको निर्माणमा जुटेका छन् । शौचालय निर्माणका लागि आवश्यक प्यान, पाइप, सिमेन्टबाहेक कुनै पनि रकम खर्च नगरी १ महिनादेखि महिलाहरू लागिरहेका हुन् । अर्थ अभावका कारण शौचालय निर्माण गर्न नसकेका परिवारमा समेत अभियानले ठूलो सहयोग मिलेको छ । महिलाले अभियान सञ्चालन गरेपछि विभिन्न बहानामा गाउँमा शौचालय नबनाउनेलाई पनि दबाब परेको लक्ष्मीपुर–४ कोटकी पुष्पा डाँगीले बताइन् । ‘गाउँमा शौचालय निर्माण गर्न धेरै पटक आग्रह गर्दा पनि कहिले पानी छैन भनेर टारे, कहिले पैसा छैन भनेर टारे, हामीले अभियान चलाएपछि गाउँमा सबैले कामको सुरुआत गरेका छन्’, डाँगीले भने ।
जनचेतनाको कमी र परम्परागत सोचाइ भएका कारण गाउँमा शौचालय निर्माण हुन नसकेको स्थानीयवासी विमला खत्रीले बताए । ‘परम्परागत रूपमा जंगलमा शौच गर्ने बानी छुटाउन गाह्रो रहेछ, शौचालय निर्माण गर्नका लागि सोचाइ परिवर्तन गर्न हाम्रो अभियानले ठूलो सहयोग ग¥यो,’ खत्रीले सुनाइन् । महिलाले अभियान सुरु भएपछि पुरुषले पनि साथ दिन थालेको महिला अभियानका संयोजक दुर्गा थापाले जानकारी दिएकी छन् । ‘पति विदेश गएका घरमा महिला एक्लै भएका परिवार र आर्थिक अवस्था कमजोर भएका १९ घरमा शौचालय निर्माण गरिसकेका छौँ, २१ घरमा खाल्डो खन्ने काम भएको छ, यसलाई पनि छिट्टै पूरा गर्छांै’, थापाले भनिन् ।
प्रतिक्रिया