काठमाडौं, २६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल वायुसेवा निगम बचाउन कर्मचारीले नै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।
आइतबार सार्वजनिक संस्था कर्मचारी संगठनले आयोजना गरेको ‘पर्यटन क्षेत्रको विकासमा नेपाल वायुसेवा निगमको भूमिका’ विषयको अन्तरक्रियामा उनले निस्वार्थ भावनाले कर्मचारीले सक्रिय भएर लागे मात्र निगम बचाउन सकिने बताएका हुन् ।
कर्मचारीले आफैले आफूलाई नढाँट्ने हो भने निगमको अवस्था चाँडै सुध्रने बताउँदै उनले भने, ‘कर्मचारी निजी एयरलाइन्सको ‘एजेन्ट’ भएसम्म निगम सुध्रदैन ।’ मन्त्रालयका सचिव प्रेम राईले निगमको व्यवस्थापन सुधार्न प्रयास भइरहे पनि त्यो पर्याप्त नभएको बताए । निगमलाई सुधार्न कम्पनी ढाँचामा लैजानुको विकल्प नभएको उनको भनाइ थियो ।
सञ्चालनमा रहेका जहाज थन्काएर निगमले नयाँ जहाज किन्न नसक्ने बताउँदै उनले भने, ‘जहाज किनेर थन्किएर बसेका छन्, भएका जहाज चलाउन नसक्ने अनि नयाँ जहाज किन्न खोज्ने ?’ कार्यक्रममा डा गोविन्दबहादुर थापाले निगमको अवस्था र सुधारका उपायहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया