शिक्षा निःशुल्क हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दकिशोर पुनले सबै बालबालिकालाई शिक्षामा सर्वसुलभ र समान पहुँच पु¥याउन निःशुल्क शिक्षा हुनुपर्ने बताएका छन् । कीर्तिपुर नगरपालिका–८ चम्पादेवी गोदामचौरस्थित बाघभैरव माविको स्वर्ण महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्नसमेत निःशुल्क शिक्षा आवश्यक रहेकामा जोड दिँदै निःशुल्क शिक्षा नभएसम्म सबै बालबालिकाको शिक्षामा समान पहुँच नपुग्ने विचार व्यक्त गरे ।

‘सामुदायिक विद्यालय संकटबाट गुज्रिरहेका छन्,’ उनले भने, ‘शैक्षिक अवस्थाको सुधारका लागि आगामी बजेटमा शिक्षा क्षेत्रमा यथेष्ट बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’ सोही अवसरमा उपराष्ट्रपति पुनले विद्यालयको पूर्वप्रावि कक्षाको उद्घाटन तथा स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गरे । कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, दाताहरुलाई प्रशंसापत्र तथा सम्मानपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषबाट विद्यालयलाई २ लाख सहयोग गर्ने घोषणा गरे । (सौस)

प्रतिक्रिया