लोकतन्त्रका सेनानीलाई सम्मान गरिने

काठमाडौं, २५ वैशाख । लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि आन्दोलनमा सहभागी भई योगदान गर्नेलाई बिपी चिन्तन प्रतिष्ठानले खोजी–खोजी सम्मान गर्ने भएको छ । दोस्रो राष्ट्रिय सम्मेलन समापनका अवसरमा शनिबार १५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानका गतिविधि सञ्चालनका लागि बिपी अक्षयकोष स्थापनाको शुभारम्भसमेत गरिएको कोषाध्यक्ष त्रिलोचन पौडेलले जानकारी दिए ।

‘कोषको शुभारम्भमा केन्द्रीय सदस्य रामकृष्ण अमात्य र मकवानपुर जिल्ला समिति सदस्य अमृता थापामगरले एक÷एक लाख हस्तान्तरण गरी शनिबारै सुरु गर्नुभएको छ, यसलाई विस्तार गर्दै लैजाने नीति सम्मेलनले पारित गरेको छ’, उनले भने । काठमाडौं उपत्यकामा प्रतिष्ठानको सुविधासम्पन्न बिपी चिन्तन भवन र उद्यान, श्रद्धासुमन अर्पण गर्न पूर्ण कदको सालिक, बिपीको योगदान समेटेर चलचित्र निर्माण गर्नेलगायत बुँदा समेटिएको कोषाध्यक्ष पौडेलले बताए ।

प्रतिष्ठानले भूकम्पपीडितका लागि सरकारले दिएको अनुदान पीडितसम्म पुगे/नपुगेको, गुणस्तरीय काम भए÷नभएको विषयमा अनुगमन गर्न अध्यक्ष हरिबोल भट्टराईको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ । ३ असोजमा कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधानसभाबाट जारी गरेको संविधान कार्यान्वयनमा प्रतिष्ठानले पनि सघाउने निर्णय गरेको छ ।

‘संविधानसभाबाट संविधान बनाउने नेपालका पहिलो स्वप्नद्रष्टा बिपी कोइराला हुनुहुन्थ्यो, उहाँको सपनाअनुसार सात दशकपछि जारी भएको संविधान कार्यान्वयनका लागि ७५ वटै जिल्लाका प्रतिष्ठान लागिपर्ने छन्’ अध्यक्ष भट्टराईले भने । सम्मेलनमा ७५ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी ५ सयको सहभागिता थियो । सम्मेलनको २३ वैशाख बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया