काठमाडौं, २५ वैशाख । नेकपा (माले)को सातौँ राष्ट्रिय महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु भएको छ । महाधिवेशनमा प्रधानमन्त्री केपी शर्माओलीले शुभकामना मन्तत्व दिँदै वर्तमान संकटलाई चिर्न सबै दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए । उनले सत्ता परिवर्तनका लागि केही शक्ति लागे पनि सफल हुन नसकेको बताउँदै विदेशीको इशारामा सत्ता परिवर्तनको खेल भएको उल्लेख गरे । ‘सत्ता परिवर्तनका लागि केही दल उफ्रे’, उनले भने, ‘त्यो विदेशीको इशारामा थियो । तर त्यो सफल हुन सकेन ।’
उनले जात र क्षेत्रका नाममा केही समस्या देखाएर केही तत्वले उचाल्ने काम गरेको बताए । ‘जात र क्षेत्रका समस्या देखाएर उचाल्ने काम भएको छ’, उनले भने, ‘त्यसैगरी मधेसका समस्यालाई संवैधानिक समस्या बनाउन खोजिएको छ ।’ प्रधानमन्त्री ओलीले केहीलाई नेपालको संविधानमा सार्वभौमसत्ता स्वतन्त्र उल्लेख गरिएको शब्द नपचेको बताए । ‘संविधान नपचेकाले नै केहीले तहसनहस पार्न खोजेका छन्’ उनले भने ‘तर हामी त्यसो गर्न दिँदैनौँ ।’
प्रधानमन्त्री ओलीले महाधिवेशन कर्मकाण्डी नबनाई अहिलेको परिस्थितिको सही विश्लेषण गर्न सक्नुपर्ने सुझाव दिए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले सबै पार्टी मिल्नुको विकल्प नभएको बताए । कार्यक्रममा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबै राजनीतिक पार्टी मिलेर अगाडि जानु आजको आवश्यकता भएको औँल्याए ।
कार्यक्रम एमाओवादीका पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकीले राजनीतिक पार्टी एक भएमात्र संविधान कार्यान्वयन गर्न सकिने बताए । कार्यक्रममा नेकपा (संयुक्त)का गणेश साह, राप्रपा नेपालका सचेतक दिलनाथ गिरीले पनि शुभकामना मन्तव्य दिएका थिए ।
मंगलबारसम्म चल्ने महाधिवेशनको उद्घाटन उपप्रधान तथा महिला बालबालिका मन्त्रीसमेत रहेका मालेका महासचिव चन्द्रप्रकाश मैनालीले गरेका थिए ।
महाधिवेशन उद्घाटन गर्दै महासचिव मैनालीले अहिले पनि नेपालको अस्तित्वमा खतरा भइरहेकाले सबै दल एकजुट हुनुपर्ने बताए । ‘मुलुकको स्वतन्त्रता, भूखण्डतामा आँच आउने काम भइरहेको छ’, उनले भने, ‘त्यसैले सबै दल मिलेर आँच आउने काम गर्न दिनुभएन ।’ उनले संविधानमा केही कमजोरी भए पनि प्रगतिशील संविधान भएको बताए । महासचिव मैनालीले नेपालको भूराजनीतिले गर्दा जातीय र क्षेत्रीय प्रदेश हुन नसक्ने दाबी गरे ।
महाधिवेशनमा सहभागी हुन ७५ जिल्लाका ४ सय ९५ प्रतिनिधि सहभागी भएका छन् । एमालेसँग फुटेपछि पहिलोपटक हुन थालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया