मोरङ, २५ वैशाख । एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसंख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको परालको माच हेर्दाहेर्दै खरानी पा¥यो । उनी भन्छन्– ‘गाउँमा बूढापाका, महिला र केटाकेटी मात्रै छन् । हामी बूढापालाई बारुणयन्त्र र प्रहरी बोलाउने हेक्कासमेत समयमा आउँदैन ।’
केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध वा कुनै धार्मिक उत्सवमा युवाको उल्लेख्य सहभागिता हुने गथ्र्याे । नाचगानको रमाइलो नै बेग्लै हुन्थ्यो तर त्यो सबै सपना जस्तो लाग्छ राजघाट–६ की तुलशा निरौलालाई । उनी भन्छिन्– ‘दुई छोरा र एउटी बुहारी कामको सिलसिलामा बाहिर बस्छन्, गाह्रो सारोमा सहयोग दिने र बिरामी पर्दा पानी तताएर दिने कोही छैनन् ।’
गाविसको चक्रेटोल, डाँडाटोल, खोपीडाँडा, भोटेपुल, आम्बारी, दुर्गापुरी, नेगिटोल, बोर्डरलाइन, आसामेटोल, कुलझोडा, इन्द्रझोडालगायतका गाउँ टोलका युवा अधिकांश वैदेशिक रोजगारमा गएका छन् । रहेका केही पढ्न नजिकैको सहरतिर छिरेका छन् भने सरकारी जागिर खाने पनि गाउँमा बस्दैनन् । स्थानीय सञ्चारकर्मी तेजन खड्काका अनुसार गाउँमा १८ वर्ष नाघेका युवा भेट्न गाह्रो हुन थालेको छ । गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा मात्र होइन कोही मान्छे कालगतिले बेलुका पख म¥यो भने रातभर रुघ्ने लाठेसमेत गाउँमा नपाइने गरेको राजघाट–७ का हेमन्त पौडेलले बताए ।
राजघाटमा बूढाबूढीमात्र भएका कतिपय जग्गाधनीले काम गर्न नसकेर आफूसँग भएको थोरै खेतबारीसमेत बाँझै राख्न थालेका छन् भने कतिपयले बिरुवा रोपेर खेतको सुरक्षा गर्न थालेका छन् । आफू काम गर्न नसक्नु र काम गर्ने मान्छे नभेटिएका कारण खेतबारी बाँझै राख्न बाध्य भएको उनीहरूको भनाइ छ । जसका कारण खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुन थालेको छ ।
सामान्य अक्षर चिनेपछि नेपालमा केही हुँदैन भन्दै युवा रोजगारका लागि खाडी मुलुक पस्ने गरेका हुन् । वर्षभरि खेती गर्दा पनि नगद नदेखिने र समस्या आइपर्दा जहिले ऋण काट्नुपर्ने पिरले विदेशिएका राजघाट–६ का श्याम लिम्बूले बताए । भर्खरै बिदामा घर आएका उनले भने, ‘वर्षभरि दुःख गर्दा ३० हजार कमाउन चर्को पर्छ, उस्तै प¥यो भने विदेशमा एकै महिनामा त्यति पैसा कमाइन्छ अनि किन नेपाल बस्ने ।’ प्राविधिक शिक्षा र वैज्ञानिक कृषि प्रणालीको अभावमा नेपालीले यस्तो मार खेप्नुपरेको उनको भनाइ छ । राजघाट गाविसका सचिव चन्द्रप्रसाद पराजुली पनि राजघाटमा वैदेशिक रोजगारमा जानेको संख्या अरू छिमेकी गाविसको तुलना बढी भएको बताउछन् ।
प्रतिक्रिया