डाक्टरी पढाइ छाडेर पशुपालनमा

पाल्पा, २४ वैशाख । मदनपोखरा तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबीबीएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गरेका छन् ।

सात वर्षसम्म रसियामा एमबीबीएस पढ्दै गरेका थापाले पढाईमा २१ लाख खर्चिए । ‘गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने मन जाग्योे’ उनले भने, ‘परिवारको सोच डाक्टरी पढाइतिर भए पनि मेरो मन एक्कासी बदलियो, बीचमै पढाइ छाडेर घर फर्केर बाख्रा र कुखुरापालन व्यवसायमा हात हाले ।’

थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । ‘डाक्टरी पढेर विदेशमै अरूको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,’ उनले भने । विदेशी जीवनभन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ ।

थापाले रु १५ लाखको लगानीमा बाख्रा फार्म तथा कुखुरा फार्म सञ्चालन गरेका छन् । फार्ममा ५७ वटा जमुनापारी, खरी र वयर जातका बाख्रा रहेका छन् भने स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्देश्यका साथ ४ सय कुखुरासमेत उनले पालेका छन् ।

गाउँमै बसेर व्यवसाय गर्न थालेपछि व्यवसायतर्फ झन् हौसला बढ्दै गएको उनको भनाइ छ । यस व्यवसायबाट थापाले वार्षिक सात लाखदेखि आठ लाख रुपियाँसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायमा हौसला बढाउनका लागि जिल्ला पशु सेवा कार्यालयले कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत २० हजार रकम उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताए । पछल्लो समय जिल्लामा पशुपालन तथा तरकारी खेतीमा शिक्षित युवाको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया