नक्साको त्रुटिले कार्यमा ढिलाइ

जनकपुरधाम, २३ वैशाख । जनकपुर विमानस्थलको टर्मिनल भवनको नक्सामा भएको प्राविधिक त्रुटिका कारण निर्माण कार्यमा गतिरोध उत्पन्न भएको छ ।
भारतको इन्दिरा गान्धी विमानस्थलको नक्साअनुरूप निर्माण सुरु गरिएकामा सो नक्सामा अधिक प्राविधिक त्रुटिले भवनको निर्माण अवधि समाप्त भइसक्दा पनि ८२ प्रतिशत कार्य मात्र भएको छ । जनकपुर नागरिक उड्डयन कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

नक्सामा टर्मिनलमा केही महत्वपूर्ण आवश्यक पूर्वाधारहरूको उल्लेख नभएका कारण लागत खर्चमा वृद्धि भई स्वीकृतको प्रतीक्षामा १५ महिनामा सम्पन्न हुनुपर्ने कार्य ६ वर्ष लाग्दा पनि रोकिएको अवस्थामा रहेको छ ।

०६९ कात्तिक महिनामा १८ करोड रुपैयाँको लागतमा निर्माणकार्य सुरु गरिएकामा टर्मिनलमा आवश्यक पर्ने केही महत्वपूर्ण पूर्वाधारको समावेशसहितको निर्माणकार्य गर्दा ७ करोड २० लाख रुपैयाँ बढी रकम लाग्ने देखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले गत फागुन २७ गते टर्मिनलको आवश्यक पूर्वाधार निर्माणमा लाग्ने थप रकमको स्वीकृत दिइसके पनि विभागले कुनै पहल नगरेका कारण निर्माण सुरु हुन नसकेको बताइएको छ ।

सञ्चालक समितिका सदस्य सुखचन्द्र झाले टर्मिनल भवनको निर्माणकार्य पुनः सुरु गराउन समितिले प्रयास गर्ने बताउँदै विमानस्थलमा विद्यमान समस्यालाई ३ चरणमा समाधान गर्ने योजना कार्यान्वयन गर्नुपर्ने धारणा राखे । कतिपय समस्या स्थानीय प्रयासबाट पनि समाधान गर्ने रहेकाले सोका लागि स्थानीय प्रयासको खाँचोसमेत उनले औँल्याए । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रेमनाथ ठाकुरले जनकपुर विमानस्थललाई सुविधा सम्पन्न बनाई यहाँबाट पोखरा, विराटनगर, भैरहवा विमानस्थलका लागि विमान सञ्चालन गर्ने पर्याप्त आधार भएको चर्चा गरे ।

उद्योगी सुरेन्द्र भण्डारीले विमानस्थल फोहर र सुविधाविहीन रहेको चर्चा गर्दै यात्रुको चापअनुरूपको व्यवस्थामा ध्यान दिनु जरुरी छ भने । जनकपुर अञ्चल प्रहरी प्रमुख सुरेशविक्रम शाहले विमान स्थलको सुरक्षाको पूर्वाधारलाई ध्यान नदिएका कारण विमानस्थललाई सर्वसाधारणले गलत रूपमा प्रयोग गरिरहेको बताए ।

बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले विमानस्थलमा खानेपानी, विद्युत् र प्रतीक्षा कक्षको अभावको पूर्ति र ठूलो विमान अवतरण गर्ने धावन मार्गको निर्माणको आवश्यकतामा जोड दिए । जनकपुर नागरिक उड्डयन कार्यालयका प्रमुख इन्दु अधिकारीले बजेट अपुग भएको, तार काट्ने, फोहर बनाउने समस्या जटिल भएको बताए ।

प्रतिक्रिया