रुकुम । यात्रुलाई स्तरीय सेवा प्रदान गर्ने राप्तीका २ यातायात प्रालिबीचमा सहमति भएको छ ।
रुकुम यातायात प्रालि र मालिका कालिका यातायात प्रालि दाङ बीचमा यात्रुको चाहनाअनुसारको स्तरीय सेवा प्रदान गर्ने सहमति भएको हो ।
२ प्रालिबीच दाङको तुलसीपुरमा भएको छलफलपछि रुकुमदेखि दाङसम्मको सडकमा २ प्रालिले एकआपसमा समन्वय गरी सेवा सञ्चालन गर्ने सहमति भएको रुकुममा सञ्चालित रुकुम यातायात प्रालिले जनाएको छ ।
१५÷१५ क्युको अवधारणामा २४ वैशाख शुक्रबारदेखि २ प्रालिको सेवा सञ्चालनमा आउनेछ । यातायात क्षेत्रको आलोपालो प्रथालाई अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट सेवा सञ्चालन गर्न सधैँ लागिरहने विषयमा समेत सैद्धान्तिक सहमति भएको छ ।
सरकारले खारेज गरिसकेको आलोपालो पूर्णरूपमा नहटेसम्म यात्रुले स्तरीय सेवा पाउन नसक्ने ठहर गर्दै २ प्रालिले एकआपसमा समन्वय गरेर सेवा सञ्चालन गर्न लागिएको रुकुम यातायात प्रालिका अध्यक्ष केशव रावलले बताए ।
यसअघि रुकुम यातायात प्रालिले काठमाडौं, नेपालगञ्ज र स्थानीय सडकमा यातायात सेवा सञ्चालन गर्दै आइरहेको थियो । यात्रुको मागका आधारमा सेवा विस्तार गर्दै जाने प्रालिले जनाएको छ । (सौस)
प्रतिक्रिया