अनुदानले नपुग्नेलाई सहुलियत ऋण

काठमाडौं, २३ वैशाख । भूकम्पले पूर्णरूपमा घर क्षति भएका पीडितलाई सरकारले सामूहिक जमानी र सहुलियत ऋणमा स्थायी आवास निर्माणका लागि सहयोग गर्ने भएको छ ।

अनुदानमा दिने २ लाखले स्थायी आवास निर्माण गर्न नपुग्ने भूकम्पपीडितलाई सामूहिक जमानी र सहुलियतमा ऋण दिने कार्यविधि बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

‘अनुदानमा दिइने २ लाखले आवास निर्माण गर्न नपुग्नेका लागि सामूहिक जमानीमा बिनाधितो ३ लाख ऋण दिइनेछ, सामूहिक जमानीको ३ लाखले पनि आवास निर्माण गर्न नपुग्ने ठूलो परिवार भएकाका लागि २ प्रतिशत सहुलियत ऋणमा उपत्यका बाहिरका जिल्लालाई १५ लाख र उपत्यकाका लागि २५ लाख ऋण दिइने कार्यविधिमा उल्लेख छ’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने ।

पीडितलाई सबै बैंक र वित्तीय संस्थाले सहुलियत ऋण दिनुपर्ने भनी नेपाल राष्ट्र बैंकले निर्देशन दिए पनि लागू हुन सकेको छैन । नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र प्राइम बैंकले २ प्रतिशत ब्याजको सहुलियत ऋणमा कर्जा बाँड्न सुरु गरेको छ ।

सरकारले बनाएको कार्यविधिअनुसार सबै बैंक र वित्तीय संस्थाले २ प्रतिशत ब्याजको सहुलियत ऋण भूकम्पपीडितलाई दिनुपर्छ, दिन नमान्ने बैंक वा वित्तीय संस्थाका विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिन्छ’ बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने । ३ बैंकबाट अहिलेसम्म १ करोड ४० लाख सहुलियत ऋण दिइएको छ ।

प्रतिक्रिया