बर्लिन, २२ वैशाख । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न चेतावनी दिएका छन् ।
उनले बर्लिनमा भने, ‘वार्ताका लागि परिस्थिति बनेको छ, पछिल्लो समयमा विकसित युद्धविरामको अवस्थामा नै वार्ताका लागि पहल भएन भने यसको परिणाम पनि नराम्रो हुनसक्छ ।’ पछिल्लो समयमा सिरियामा युद्धविराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कयौँ नागरिकले ज्यान गुमाएका छन् ।
सिरियाका बारेमा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर, सिरियाली विपक्षीहरूले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको छैन । गत २२ अप्रिलदेखि सिरियाली अलेपो सहरमा सुरु भएको सो हिंसामा परी कम्तीमा पनि २ सय ७० जनाको ज्यान गएको छ । सिरियाका अरू भागमा भने युद्धविरामको अवस्थामा हिंसा भएको छैन ।
अमेरिकी विदेशमन्त्री केरी बर्लिन पुगेका छन् । उनले यहाँ सिरियाली विदेशमन्त्री, सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि र सिरियाली विपक्षीहरूका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी २ लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवं सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५ सय बालबालिका र करिब ९ हजार महिला रहेका छन् । सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएकोले सिरियामा वार्ताको विकल्पमा पनि अभिव्यक्तिहरू आउन थालेका छन् ।
विश्व समुदायले सिरियामा पुनः हिंसा भड्किई युद्धविराम उल्लंघनको अवस्था आउने हो कि भन्ने विषयमा चिन्ता व्यक्त गरिरहेका बताइएको छ । यस वार्ताको अगुवाई अमेरिका र रसियाले गरेका थिए । त्यसैले विदेशमन्त्री केरी पनि वार्ताको वातावरणका लागि बर्लिन पुगेको अनुमान गरिएको छ । उनले भने, ‘यसपटक पनि सिरियाले वार्ताको अवसर गुमायो भने उसका लागि ठूलो दुर्भाग्य हुनेछ, त्यसैले वार्ताको विकल्प छैन ।’
प्रतिक्रिया