सोल, २२ वैशाख । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले आफूले गरेको इरानको भ्रमण कोरियाली प्रायद्वीपमा शान्तिका लागि केन्द्रित भएको बताएका छन् । उनले आइतबारदेखि ३ दिनसम्म इरानको भ्रमण गरेका थिए । सो भ्रमणले उत्तर कोरियालाई निशस्त्रीकरणको मार्गतर्फ उन्मुख गराउने पहल गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेका छन् ।
कोरियाली स्थानीय सञ्चारले बुधबार जनाएअनुसार सो भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिले सो विषयमा पहल गरेको कुरा जनाएको थियो । कोरिया र इरानबीच कूटनीतिक सम्बन्धको स्थापना भएपछि पहिलोपटक दक्षिण कोरियाली राष्ट्रपतिले यो भ्रमण गरेका हुन् ।
यी २ देशबीच सन् १९६२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो पहिलोपटक यति उच्चस्तरमा भ्रमण भएको हो । तेहरानबाट सोलका लागि उडेका राष्ट्रपति हाइले मंगलबार विमानमै सञ्चारकर्मीसँग भने, ‘यो भ्रमणको मुख्य उद्देश्य भनेको उत्तर कोरियामा पछिल्लो समयमा बढ्दो तनावलाई निशस्त्रीकरणका माध्यमबाट कमगर्ने प्रयत्न गर्नु नै हो ।’
इरानको यसअघिदेखिकै सम्बन्ध दक्षिणतर्फभन्दा बढी उत्तर कोरियासँग नै राम्रो हो । तैपनि, पछिल्लो समयमा इरानले निशस्त्रीकरणमा सहमत हुनु भनेको पनि एक अति महत्वपूर्ण उपलब्धि हो, सञ्चारले जनाएका छन् । सो भ्रमणका क्रममा सोमबार राष्ट्रपति हाइले इरानी राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेका थिए ।
सो भेटवार्ताका क्रममा भएको सहमति बमोजिम राष्ट्रपति रौहानीले आफूले उत्तर कोरियाले गरेको पछिल्लो समयको शस्त्रास्त्रको होडबाजीमा विश्वास नगर्ने आश्वासन दिएका थिए । यो आश्वासन यी दुबै देशको प्रेस विज्ञप्तिका समयमा पनि झल्किएको छ । दक्षिण कोरियाली राष्ट्रपति हाइ र इरानी राष्ट्रपति रौहानीको संयुक्त प्रेस विज्ञप्तिमामा पनि यो विषयमा रौहानी सहमत भएको देखिएको छ ।
पछिल्लो समयमा उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै गएको छ । उसले सो परीक्षण दक्षिण कोरिया र अमेरिकाका लागि लक्षित पनि गरेको देखिन्छ । थप परीक्षणको पनि सम्भावना छ ।
यसैबीच प्राप्त अर्काे एक समाचारमा उत्तर कोरियाले थप आणविक परीक्षण गर्ने सम्भावना रहेको जनाइएको छ । जनाइएअनुसार उत्तर कोरियाले फेरि अर्काे परीक्षणका लागि अवसर खोजिरहेको पाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
उत्तर कोरियाले पुनः अर्काे ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशंका यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए । यसअघि पनि उत्तरको यस्तो आशंकाका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रूपमा सतर्क रहन निर्देशन दिएको समाचारमा जनाइएको थियो ।
उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने संकेत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले बुधबार पनि जनाएका छन् ।
ती सञ्चारले दिएको जानकारीअनुसार उत्तर कोरियाले अर्काे ब्यालेस्टिक परीक्षणका लागि अवसर खोजिरहेको छ र त्यो अवसरमा उसले परीक्षण गर्ने भएको छ । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरि पनि अर्काे मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको बताइएको हो । उत्तर कोरियाले गतहप्ता मात्र गरिएको भनिएको पाँचौँपटकको आणविक परीक्षण भने असफल भएको बताइएको थियो ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि ५ पटकसम्म यस्तो परीक्षण गरेको छ । यतिखेर पनि अर्काेको पर्खाइमा रहेको कोरियाली सञ्चारमाध्यमको दाबी छ ।
संयुक्त राष्ट्रसंघले उत्तरविरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ । यसप्रति अमेरिका र विश्वका अरू कयौँ शक्ति राष्ट्रको पनि सहमति रहेको छ ।
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा तिक्तता छाएको बताइन्छ । यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुँदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढंगले सोच्न थालिएका समाचारहरू प्राप्त भइरहेका छन् ।
प्रतिक्रिया