बुटवल, २२ वैशाख । रुपन्देहीमा यसवर्ष गहुँको उत्पादनमा सामान्य वृद्वि भएको छ । देशको मुख्य बालीअन्तर्गतको गहुँका लागि रुपन्देही उपयुक्त क्षेत्र भए पनि मौसम अनुकूल नहुँदा राम्रो प्रतिफल दिन सकेन । यसवर्ष हिउँदे वर्षा भएन, गहुँ खेती गरिने अधिकांश क्षेत्र आकाशे मनसुनमा निर्भर रहेकोले अपेक्षा अनुसार उत्पादन नभएको हो ।
जिल्लामा गतवर्षको तुलनामा यसवर्ष करिब ५ प्रतिशतले मात्र उत्पादन वृद्वि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ लगाइएकोमा ७९ हजार ३ सय ८० मेट्रिक टन उत्पादन भएको छ । कार्यालयले यसवर्ष ९५ हजारदेखि १ लाख मेट्रिक टनसम्म उत्पादन हुने अपेक्षा गरेको थियो ।
गतवर्ष ७५ हजार मेट्रिक टन मात्र गहुँ उत्पादन भएको थियो भने, ३० हजार हेक्टरमा लगाइएको थियो । जिल्लामा ८७ हजार ८ सय ४० हेक्टर खेतीयोग्य जमिनमध्ये ३२ हजार हेक्टर क्षेत्रफमा गहुँ खेती गर्न सकिन्छ । तर, पछिल्ला वर्षहरूमा किसानहरू नगदेबालीप्रति आकर्शित हुन थालेपछि गहुँ खेती गर्ने क्षेत्र घट्दो छ । जिल्लाका किसानले भर्खरै गहुँ भित्राएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले गतवर्षभन्दा उत्पादनमा केही सुधार आए पनि अपेक्षा अनुसार उत्पादन बढ्न नसकेको बताए । आव ०७०/७१ मा १ लाख ६ हजार ७ सय मेट्रिक टनसम्म उत्पादन भएको थियो । उक्त सालमा ३० हजार ५ सय हेक्टर क्षेत्रमा गहुँ लगाइएको थियो ।
सापकोटाले ०७०/७१ सालमा जति उत्पादन हुनुपर्ने भए पनि यसवर्ष हिउँदे वर्षा नहुँदा गहुँले राम्रो प्रतिफल दिन नसकेको बताए । जिल्लामा प्रतिहेक्टर ३० क्विन्टलसम्म गहुँ उत्पादन हुन्छ । ०६९÷७० मा ३० हजार हेक्टरमा लाइएको गहुँ ८७ हजार ८ सय ४० मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयका अधिकृत विनोद ज्ञवालीले यसवर्ष नहुँदा उत्पादन राम्रो हुन नसकेको बताए । अनुकूल मौसम भए जिल्लामा १ लाख १० हजार मेट्रिक टनसम्म गहुँ उत्पादन हुन्छ ।
उत्पादन घटदै जानु, खेतीयोग्य जमिनमा खण्डीकरण गरिनु, जमिन बाँझो राख्नु, आधुनिक कृषि प्रविधि अपनाउन नसक्नु, कृषकहरूलाई अनुदान एवं प्रोत्साहन नगरिनु जस्ता कारणले गहुँ उत्पादनमा समेत कम हुन गई भारतलगायत अन्य देशबाट खरिद गनुपर्ने अवस्था आउन थालेको छ । ‘गहुँ खेतीका लागि १० हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाई सुविधा रहेको छ । ज्ञवालीले भने, ‘अन्य क्षेत्रमा आकाशे भरको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ ।’ खासगरी मानपकडी, मानमटेरिया, मर्चवार, लुम्बिनी, धककई, तिलोत्तमा नगरपालिकालगायत स्थानलाई जिल्लाको गहुँ उत्पादनको पकेट क्षेत्रका रूपमा लिइन्छ । पछिल्लो समय किसानहरूले कृषि कार्यालयले सिफारिस गरेका उन्नत जातका गहुँ लगाउँदै आएका छन् ।
गहुँ खेती विभिन्न हावापानीमा गर्ने गरिन्छ । तराईको ३ सय मिटर समतल भू–भागदेखि पहाडको ३ हजार मिटर उचाइसम्म यसको खेती राम्रो हुने कृषि विज्ञहरूको भनाइ छ । यसको खेती सबै प्रकारको माटोहरूमा हुने गरे पनि दोमटमाटो सबैभन्दा रामो मानिन्छ । किनभने यस्तो माटोमा चिस्यान अड्याई राख्ने गुण हुन्छ तर अन्य चिम्टाइलो माटोहरूमा त्यस्तो गुण हुँदैन । आफ्नै मनोमानीले बढी मात्रामा रासायनिक मल प्रयोग गर्ने गरे केही वर्ष उत्पादन राम्रो देखिए पनि पछि उत्पादन घट्दै जाने र जमिनको माटो पनि बिग्रने भएकोले रासायनिक मलको प्रयोग कम गनुपर्ने सापकोटाको भनाइ छ ।
प्रतिक्रिया