एकताको माग गर्दै समानान्तर समिति

उदयपुर, २२ वैशाख । छरिएर रहेका माओवादी आन्दोलनलाई एकता गर्न दबाब दिने उद्देश्यले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी उदयपुरमा एकता पक्षधर नेताहरूले समानान्तर जिल्ला समिति गठन गरेका छन् ।

१२७औँ मजदुर दिवसको अवसर पारेर भएको क्रान्तिकारी माओवादीहरूको एक भेलाले जिल्ला सहसंयोजक जीवनकुमार कार्कीको नेतृत्वमा समानान्तर समिति गठन गरिएको हो ।

भेलाले छरिएर रहेका माओवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने, नेतृत्वमा रहेको तानाशाही प्रवृत्ती अन्त्य हुनुपर्ने, एकताको नाममा गतल ढंगले केन्द्रीय समितिमा गरिएको मनोनयन फिर्ता हुनुपर्नेलगायत राजनीतिक मागहरू पूरा नभएपछि वाध्य भएर समानान्तर समिति गठन गरिएको संयोजक जीवनकुमार कार्कीले बताए ।

समानान्तर समितिका संयोजक कार्कीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक मिनकुमार राउतले नियमित पार्टी कार्यालय सञ्चालनमा नल्याएको, जनताका दैनिक समस्यालाई समाधान गर्न पहल नलिएको र परि थापा समूहबाट आएकाहरूलाई अनावश्यक स्थान दिई जनयुद्धबाट आएकाहरूलाई अवमूल्यन गरेको आरोप लगाइएको छ । ‘हामीले माओवादी आन्दोलनलाई एक बनाउनु पर्छ भनेर बारम्बार नेतृत्वसमक्ष कुरा राख्यौँ तर नेतृत्वले कुरा नसुनेपछि पार्टी कार्यालयमा तालाबन्दी ग¥यौँ तर पनि सुनुवाई नभएपछि वाध्य भएर समानान्तर समिति बनाएका हौँ ।’ समानान्तर समितिमा आफूसँग बहुमत रहेको जनाउँदै कार्कीले भने ‘पार्टी एकता गर्नका लागि जिल्ला तहबाट केन्द्रलाई दबाब दिनुको साटो उल्टै एकता विरोधी क्रियाकलापमा नेतृत्व संलग्न भएकाले पार्टी एकताको पहल लिनको बहुमत सदस्यहरूको भेलाले अर्काे समिति गठन गरेको हो ।’

क्रान्तिकारी माओवादी उदयपुरमा ४५ सदस्य माओवादीका र ११ जना परि थापा नेतृत्वबाट आएका सदस्यहरू गरी ५६ जनाको जिल्ला समिति रहेको छ । जसमध्ये कार्की नेतृत्वमा ३० भन्दा बढी सदस्यहरू रहेको जिल्ला सदस्य बैकुण्ठनाथ दाहालले बताए ।

उदयपुरमा माओवादी एकताको माग गर्दै ११ वैशाखमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो । केही समयअघि परि थापा नेतृत्वको नेकपा (एकीकृत)सँग पार्टी एकता गरेर माओवादी घटकलाई धोका दिने काम नेतृत्वबाट भएको भन्दै रोक्नको लागि कुशलको नेतृत्वमा विभिन्न दबाबमूलक कार्यक्रम सञचालन गरिँदै आएको छ । एमाओवादीसँग एकताको विषयलाई लिएर पार्टी केन्द्रमा विवादमा फसेको क्रान्तिकारी माओवादीको जिल्ला तहमासमेत बहुमत सदस्य एकता गर्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया