सडक सुरक्षा सप्ताह हुने

काठमाडौं, २२ वैशाख । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा २६ वैशाखदेखि १ जेठसम्म सडक सुरक्षा सप्ताह हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले देशको प्रमुख सहरमा सडक सुरक्षा सप्ताह मनाउन लागेको हो ।

जसमा काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, बाँके, रुपन्देही, कास्की, चितवन, मोरङ, धनुषा, झापा, सप्तरी, पर्सा र मकवानपुरमा सडक सुरक्षा सप्ताह मनाउन लागिएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले सडक सुरक्षामा सवारी चालक वर्षैभरी लाग्नुपर्ने भन्दै यो सप्ताहले सवारी दुर्घटनामा न्यूनीकरण ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो सप्ताहमा नागरिकलाईसमेत समावेश गरेर जनचेतना दिनु जरुरी छ ।’

यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले सवारी दुर्घटना परिहाले तत्कालै प्राथमिक उपचारका लागि प्रत्येक सवारी साधनमा प्राथमिक उपचारसम्बन्धी बक्स राख्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अधिकांश स्थानमा सवारी साधन पार्किङमा समस्या परेको भन्दै पार्किङस्थल निर्माणका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक ईन्द्रबहादुर केसीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताहले सहयोग पुग्ने भन्दै सोसाइटीले सडक दुर्घटनामा कोही घाइते भए तत्काल उपचारका लागि प्राथमिक उपचारको व्यवस्था मिलाउने जानकारी दिए ।

सोसाइटीले काठमाडौं उपत्यकाको कालीमाटी, कलंकी, थापाथली, माइतीघर, नयाँबानेश्वर, दरबारमार्ग, गोंगबु, सातदोबाटो, पुल्चोक, ग्वार्को, लगनखेल, सूर्यविनायक, जगाती, सल्लाघारी, थिमीलगायतका स्थानमा प्राथमिक उपचार कक्ष राख्ने भएको छ ।

सप्ताहभर सडक सुरक्षासम्बन्धी रेडियो कार्यक्रम, कविता वाचन, सडकनाटक, निबन्ध वाचन, जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ ।

प्रतिक्रिया