देशभर वर्षा

काठमाडौं, २२ वैशाख । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सक्रियताका कारण मुलुकको मौसममा खराबी आएको छ । सो वायुको प्रभावले देशभर मौसम बदली हुनका साथै देशका अधिकांश भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउसोदेखि सुरु भएको मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गरेको र बुधबार रातभर यसको प्रभाव जारी रहने मौसमविद् मीनकुमार अर्यालले बताए ।

‘पश्चिमको सुदूर तराई भेकबाहेक अहिले देशभर बदलीसँगै अधिकांश स्थानमा पानी परेको छ । यो प्रणाली रहिरहेपनि ठूलो पानी पर्ने देखिन्न,’–उनले भने । मौसमविद् अर्यालले मनसुन सुरु हुनुअघि (प्रिमनसुन) को झल्को देखाउने गरी मौसमी प्रणालीको विकास भएको बताए ।

बुधबार सबैभन्दा बढी धनगढीमा ४७.८ मिलिमिटर वर्षा भएको छ, भने सबैभन्दा कम कास्कीको लुम्लेमा ०.५ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी विराटनगरमा १३.२, भैरहवामा ११.८, जिरीमा ९, दाङमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

बिहान घाम लागे पनि दिउसोदेखि मौसमी प्रणाली सक्रिय हुने अवस्था केहिदिन जारी रहने बताइएको छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर गर्मी बढिरहेका बेला पानी परेकाले खासगरी तराई क्षेत्रमा केही रहत महसुस गरिएको छ । प्रमुख खाद्यान्य बाली मकै छर्ने बेला किसानले राहत महसुस गरेका छन् । मुलुकभरका जंगलमा आगलागीका घटना बढेका बेला ढिलोगरी भएको वर्षाले डढेलो नियन्त्रण तथा जैविक विविधता र पशुपक्षीलाई पनि राहत दिलाएको छ । पहाडी क्षेत्रमा भने हावाहुरीसँगै आएको वर्षाले खासै प्रभाव पारेको छैन । उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत भएको छ ।

प्रतिक्रिया