भारतमा शुद्ध हावाको बिक्री

नयाँदिल्ली । भारतले क्यानडाबाट शुद्ध अक्सिजनका लागि ‘वैटालिटी एयर’ खरिद गर्ने भएको छ । राजधानी दिल्लीमा प्रदूषित हावाको मात्रा उच्च रहेको भन्दै भारतले क्यानडाको ‘फ्रेस एयर फ्रम दी रक्की माउन्टेन’ नामक कम्पनीसँग उक्त ‘वैटालिटी एयर’ खरिद गर्ने भएको हो । सो कम्पनीले ३ लिटर र ८ लिटरको बोतल सार्वजनिक गरेको छ । उक्त बोतलको भारतीय बजारमा क्रमशः १ हजार ४ सय ५० र २ हजार ८ सय भारतीय रुपैयाँ पर्छ ।

सन् २०१५ मा चीनले वैटालिटी एयर वेइजिङ र हावा प्रदूषित अन्य सहरमा बिक्री गर्न दिएपछि वैटालिटी एयर चर्चामा आएको थियो । वैटालिटी एयरका संस्थापक मोसिस लैमले भने, ‘गतवर्ष क्यानाडाको कैलगरीमा आगो लागेपछि मानिसहरूलाई श्वास लिन गाह्रो भएको थियो, त्यो समय हाम्रो उत्पादनले कैलगरी बासीलाई ठूलो राहत दियो ।’ टाइम्स आफ इन्डियाले लेखेको छ ।

वैटालिटी एयर चीनको ७ सहरमा वितरण भएको छ भने भारतको दिल्लीमा पहिलोपटक वितरण हुन लागेको हो । वैटालिटी एयरको बोतलमै रहेको मास्क आकारको सामान्य मेसिनबाट उक्त उक्त शुद्ध हावा लिन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दिल्लीको हावामा उच्च प्रदूषण दर ८९ दशमलव ५७ छ भने शुद्ध हावाको न्यून दर १० दशमलव ४३ प्रतिशत छ । प्रदूषित सहरको सूचीमा रहेको काठमाडौंको हावा प्रदूषण उच्च दर ८६ दशमलव ८९ प्रतिशत छ भने शुद्ध हावाको न्यून दर १३ दशमलव ११ प्रतिशत छ । (एजेन्सी)

प्रतिक्रिया