‘थ्रेट’मा ओली, ‘बेट’मा दाहाल

oli and dahal copyकाठमाडौं, २१ वैशाख । यतिबेला नेपालको राजनीतिमा सरकार परिवर्तनको बहस सतहमा आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको दिल्ली भ्रमणपछि वर्तमान सरकार ढल्नसक्ने धेरैले पूर्वानुमान गरेका थिए । पछिल्लो राजनीतिक घटनाक्रमले पनि यसलाई पुष्टि गरेको छ । कांग्रेस र एमाओवादी वर्तमान सरकारको कार्यशैलीप्रति विगतदेखि असन्तुष्ट छ । अहिले आएर यी २ दलले सरकार परिवर्तन गर्नुपर्ने विषयमा औपचारिक रूपमै आन्तरिक छलफल सुरु गरिसकेका छन् । यी २ दलबीच प्रधानमन्त्रीको विषयमा सहमति नहुने धेरैले अनुमान गरेका थिए । तर, स्रोतहरूका अनुसार कांग्रेसले वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसैले अहिले एमाले अध्यक्ष खड्गप्रसाद ओली ‘थ्रेट’मा छन् र एमाओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीका लागि ‘बेट’मा छन् ।

मंगलबार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुनर्निर्माण प्रक्रिया तथा मधेस समस्याको समाधानका मामलामा सरकार पूर्णअसफल भएको भन्दै सरकारविरुद्ध संसद्मा आवाज उठाउन सांसदहरूलाई निर्देशन दिएको छ ।

२ दिनसम्म बसेको संसदीय दलको बैठकपछि कांग्रेसले सांसदहरूलाई सरकारका सबै कमजोरीबारे संसद्मा आवाज उठाउन निर्देशन दिएको हो । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले भूकम्पको १ वर्ष बितिसक्दासमेत प्रभावितको समस्या ज्युँकात्युँ रहेको तथा पुनर्निर्माणका लागि विनियोजन गरिएको बजेट सदुपयोग नगरेकोबारे संसद्मा कुरा उठाउनुपर्ने बताए ।

सभापति देउवाले मधेसी दलहरूले उठाएको सीमांकन हेरफेरको मागमा वार्तामार्फत सहमति खोज्न सकिने भए पनि सरकारले वार्ता गर्न तत्परता नदेखाएकाले संविधान कार्यान्वयन अप्ठेरोमा परेको बताए । संसदीय दलका नेतासमेत रहेका देउवाले सरकारमै भएका दलहरूसमेत सरकारको कामबाट सन्तुष्ट नरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दलले संसद्लाई सरकारमाथि प्रहार गर्ने अस्त्रका रूपमा उपयोग गर्नुपर्ने बताएको कांग्रेस नेता तथा सांसद महेश आचार्यले जानकारी दिए ।

बैठकमा सांसद्हरूले भने संविधानमै १५ जेठमा बजेट प्रस्तुत गर्ने उल्लेख गरिएकाले सम्भव भएसम्म त्यो मिति पहिले नै सरकार ढाल्नुपर्ने र त्यसका लागि पार्टी नेतृत्वले सत्तारूढ एमाओवादीसँग सरकारको विकल्पमाथि छलफल अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

वर्तमान सरकारलाई विस्थापित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एमाओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ । व्यवस्थापिका–संसद्को अधिवेशन मंगलबारदेखि सुरु भए पनि यो बजेट अधिवेशनभन्दा पहिले नयाँ सरकार बनाउने प्रयास कांग्रेसले थालेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सहमति नजुट्ने भएपछि एमाओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री दिएर भए पनि तत्कालै नयाँ सरकार बनाउने निष्कर्ष निकालेको हो । शेरबहादुर देउवा कांग्रेस सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि उनलाई ‘बेटिङ’ प्रधानमन्त्रीको रूपमा हेरिएको थियो । तर, वर्तमान सरकार गठबन्धनको प्रमुख घटक दल एमाओवादीको सहयोगविना यो सम्भव थिएन । त्यसैले गठबन्धन सरकार चलाउन माहिर देउवा महत्वपूर्ण मन्त्रालय लिएर प्रधानमन्त्री छाड्न तयार देखिएका छन् । सम्भवतः अबको केही दिनमा नै देउवाले नयाँ सरकार गठनबारे एमाओवादी अध्यक्ष दाहाललाई भेट्नेछन् र प्रधानमन्त्रीको अफर गर्नेछन् । स्रोतका अनुसार गृह र अर्थ आफूले राखेर एमाओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन देउवा आफैँ तयार देखिएका छन् ।’

यता, एमाओवादी पनि केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति सन्तुष्ट छैन । सरकार हरेक मोर्चामा असफल भएको उसलाई लागेको छ तर कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेको छैन । तर, त्यसअघि दाहालले प्रधानमन्त्री केपी ओलीलाई वामपन्थीहरूको सरकार नै चलाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गर्नेछन् । अहिलेसम्म एमाओवादीले एमालेलाई धेरैपटक प्रधानमन्त्री बनाएको छ । तर, एमालेले छैन ।

कांग्रेसलाई सरकार छाड्नुभन्दा दाहाललाई प्रधानमन्त्री बनाउने विकल्पमा ओली सहजै तयार हुने अवस्था रहेको एमाओवादीका एक नेताले बताए । त्यस्तो अवस्था नआएमा दाहालको नेतृत्वमा कांग्रेस र मधेसीवादी दलहरूको सरकार गठनको प्रयास हुनेछ ।

अहिले आफ्नै जोडबलमा बनेको ओली सरकार ढाल्न दाहाल आफैँ अघि सरेका छैनन् । उनले महासचिव कृष्णबहादुर महरालाई परिचालन गरेका छन् । स्रोतका अनुसार देउवा दिल्ली भ्रमणमा रहेकै बेला महरा पनि पुगेका थिए । महराले त्यहीँ देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।

महराकै निवासमा सोमबार राती एमाओवादी शीर्ष नेताहरूको गोप्य बैठक बसेको थियो । बैठकमा महराले आफू वर्तमान सरकार परिवर्तन गर्नैपर्ने पक्षमा रहेको भन्दै अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको धारणा मागेका थिए । सो बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन् । तर, उपाध्यक्ष श्रेष्ठले ‘सरकारको कार्यशैली ठीक नभए पनि सरकारै परिवर्तन गर्ने विषयमा सोचविचार गर्नुपर्ने’ प्रतिक्रिया दिएका थिए ।

ओली सरकार ढाल्न प्रयास गर्न कांग्रेसले एमाओवादीसँग शीर्षस्तरमा संवाद गर्ने तयारी गरेको छ । कांग्रेस र एमाओवादी नेताहरू यदि सरकार परिवर्तन गर्ने हो भने तत्काल नै कदम चाल्नुपर्ने बताउँछन् । किनकि, नयाँ संविधानअनुसार १५ जेठमा बजेट ल्याउनैपर्ने हुन्छ । यदि, सरकार परिवर्तनको प्रयास लम्बिने हो भने एमालेले एकलौटी रूपमा लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याउने दुबै दलको अनुमान छ ।

डटेर प्रतिवाद गर्नाेस् : ओली
सरकारको नीति तथा कार्यक्रमका विषयमा कांग्रेसले प्रश्न उठाउन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सांसद्लाई एकढिक्का भएर प्रतिवाद गर्न निर्देशन दिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बजेट अधिवेशनमा सबै सांसदलाई एक ढिक्का भएर प्रस्तुत हुन संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

कठिन परिस्थितिमा बनेको सरकारले धेरै काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको कामको बचाउ गर्न निर्देशन दिएका हुन् । ‘सरकारले प्रभावकारी रूपमा काम गरेको छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘नाकाबन्दी खुलाएको छ, प्राधिकरणको काममा अघिल्लो सरकारले केही गरेको थिएन । अहिले तीव्रताका साथ काम भएको छ । भारतसँगको सम्बन्ध सुधार भएको छ । चीनसँगको सम्बन्ध राम्रो भएको छ ।’

संसदीय दलले व्यवस्थापिका–संसद्मा प्रभावकारी ढंगले प्रस्तुत हुने दृढता व्यक्त गरेको सांसद् रामेश्वर फुयालले जानकारी दिए । बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियाका विषयमा छलफल हुनाका साथै संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको उनल बताए ।

आगलागी नियन्त्रणलगायत जनजीवितका र जनचासोका अन्य विषयमा सांसद्हरूको भूमिका राम्रो नभएको भन्ने गुनासो बढेको भन्दै प्रधानमन्त्री ओलीले प्रभावकारी रूपमा जनताको काम गर्न सांसद्लाई निर्देशनसमेत दिए । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरूको अनुगमन गर्नसमेत निर्देशन दिएको फुयालले बताए ।

महाराजाको शैली : पुन
पूर्वअर्थमन्त्रीसमेत रहेका एमाओवादी सचिव वर्षमान पुनले प्रधानमन्त्री ओलीमाथि भूकम्प प्रभावित जनता त्रिपालमुनि बस्न बाध्य भइरहेको अवस्थामा राजा महाराजाको शैलीमा विमान चार्टर गरेर विदेश घुम्नमै रमाएको आरोप लगाए ।

एमाओवादी सचिव पुनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्ट दलहरूसँग वार्ता गर्नुको साटो प्रधानमन्त्री ओली भाषणबाजी, भोजभतेर र शिलान्यासमा रमाएको आरोपसमेत लगाए । पुनले सरकारका कामकारवाही प्रभावकारी नभएको विषयमा सामूहिक छलफलका लागि पार्टीले पत्र नै लेखेर आग्रह गरेको तर प्रधानमन्त्री ओलीले पत्रको जवाफसमेत नफर्काएको खुलासा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सुधार नगरे पार्टी सरकारबाट बाहिरिने पुनले बताए । उनले पार्टीको स्थायी समिति बैठकले नै सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालिसकेको तथा सरकारको विकल्प खोज्नेबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको समेत बताए ।

प्रतिक्रिया