कोटा घट्यो, आवेदक बढे

काठमाडौं, १८ वैशाख । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामार्फत यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको संख्या भने उल्लेखनीय रूपमा बढेको छ । सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार ६७८ जनाले दरखास्त दिएको इपएिस कोरिया शाखाले जनाएको छ । तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार ४ सय ८८ र उपत्यका बाहिरबाट २९ हजार १ सय ९० जनाले आवेदन दिएका हुन् ।

यो वर्ष दरखास्त संकलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यकाबाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र तोकिएको थियो । यो वर्ष जम्मा ३ हजार १ सय कामदार भाषा परीक्षामार्फत उत्तीर्ण गराइने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जाकनारी दिए । गत वर्ष ८ हजार ४ सय ९० जना परीक्षार्थी उत्तीर्ण भएकामा यसवर्षभन्दा कम ५१ हजार ४ सय ९९ले मात्रै दरखास्त दिएका थिए ।

पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरूका लागि पोखरामा नै परीक्षा दिन पाउनेछन् भने अन्य परीक्षार्थीले राजधानीबाट परीक्षा दिनुपर्नेछ । यस वर्ष अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाउने गृहकार्य गरिए पनि तयारी नपुगेपछि स्थगित गरिएको थियो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८ सय परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कूल २ सय पूर्णांकको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ । कोरियाले विगतमा जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदैछ । निर्देशक बाँस्तोलाले निर्माण क्षेत्रमा समेत नेपाली कामदार लैजान कोरियालाई आग्रह गरिएको जानकारी दिए ।

परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ ।

सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ ।

निर्देशक बाँस्तोलाले नेपाली कामदारलाई कोरियाले उच्च प्राथमिकता राखेको बताए । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकामा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

विगतमा कामदार लिन पाँचौँ, छैटौँ स्थानको प्राथमिकतामा नेपालीलाई राख्ने गरेकामा नेपाली कामदारको इमान्दारिता र परिश्रम देखेर अहिले कोरियाले दोस्रो उच्च प्राथमिकतामा राखेको हो । अहिले दर्खास्त दिएकाहरू आगामी ४ र ५ असारमा हुने भाषा परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया