काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा. नेपालले व्यापार घाटा ३ सय ९३ अर्ब रहेको र ४ सय २७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी दिए । मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा ५ प्रतिशत वृद्धिदर पु¥याउने लक्ष्य सरकारको रहेको उनले बताए ।
घरखेत बाँझो राखेर युवा विदेशिएपछि वार्षिक ८ अर्बभन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उनले बताए । अहिले पुनर्निर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रूपमा सहयोग पु¥याउने भनाइ गभर्नर नेपालको छ ।
नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताए । ६ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रहेको छ ।
प्रतिक्रिया