बेरुत, १९ वैशाख । सिरियाको अलेपो सहरमा पछिल्लो समयमा बढिरहेको आक्रमणलाई तत्कालै रोक्न अमेरिकाले आग्रह गरेको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असदलाई सो कारबाही रोक्न आग्रह गरेको हो । दुई महिनादेखि सिरियामा युद्धविराम जारी रहेको छ । तैपनि सिरियाली फौजले अलेपोमा कारबाही जारी राखेपछि उक्त हिंसाप्रति चिन्ता व्यक्त गरिएको समाचारमा जनाइएको छ । गएको बिहीबार पनि अलेपोमा भएको भिडन्तमा परी कम्तीमा ३८ जना सर्वसाधारण मारिएका थिए ।
अलेपोमा यसरी कारबाही जारी रहेका बेला अमेरिकी विदेशमन्त्री जोन केरी वार्ताका लागि जेनेभा जान लागेका छन् । जेनेभा जानुअघि उनले यस्तो कारबाही तत्कालै रोक्नुपर्ने धारणा राखेका हुन् । उनले जेनेभामा साउदी अरेबिया र जोर्डनका विदेशमन्त्री र सिरियामा लागि नियुक्त संयुक्त राष्ट्रसंघीय प्रतिनिधिसँग वार्ता गर्ने छन् । उनले भनेका छन्, ‘यसरी अलेपोमा जस्तै आक्रमणको अवस्था यथावत नै रहने हो भने यसले सिरियामा शान्ति स्थापनाको प्रयास विफल हुनेछ, त्यसैले देशमा शान्ति स्थापनाका लागि हालको युद्धविरामको अवस्था कायम राख्न जरुरी छ ।’
सिरियामा भएको युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएको छ । अलेपोमा बिहीबार ब्रदरहुडलाई लक्ष्य गरेर रकेट हमला गरेको र त्यसमा परी कम्तीमा दुईजना बालबालिकासहित ३८ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर, यति लामो समयसम्म पनि सिरियाको बारेमा ठोसरूपमा वार्ता भने सुरु हुन सकेको छैन ।
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १ सय ८६ जनाको ज्यान गएको बताइएको छ । सिरियामा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर सिरियाली विपक्षीहरूले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको छैन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी २ लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवं सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५ सय बालबालिका र करिब ९ हजार महिला रहेका छन् ।
प्रतिक्रिया