आधुनिकताले पुख्र्यौली पेसा धरापमा

kumhaleबाजुरा, १९ वैशाख । बाजुराका डोका व्यवसायी र कुमाले मोची जातिको माटोका भाँडा बनाउने पेसा र कडारा जातिका निगालाका डोका बनाउने पेसा पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । परम्परागत रूपमा अँगाल्दै आएका यी पेसाबाट जीविकोपार्जन नहुने भएपछि स्थानीय स्तरमा पाइने माटोबाट भाँडाका, निगालाबाट डोका बनाउने पेसा बिस्तारै धरापमा परेको हो ।

माटोका भाँडा, निगालाका डोको, उत्पादन गर्ने समुदायलाई कसैले प्रेरणा नदिएपछि उनीहरू पेसालाई नै चौपट पारेर खेतीपाती गर्न र विदेशिन थालेका छन् । आधुनिक ज्ञान सीप अभावका कारण स्थानीय उत्पादनबाट बनेका भाँडाले बजार पाउन नसकेको पछि उनीहरूको पेसा नै धराप परेको छ । यता कुमाले जातिले पनि आफ्नो पेसा नै संकटमा पारी खेतीपातीतर्फ लाग्नुपर्ने बाध्यता देखिएको छ ।

परम्परादेखि नै भाँडा बनाएरै जीवन चलाउँदै आएका जुकोट–६ का दलित अगुवा हिन्दू कडाराले बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कृषि व्यवसायमा लागेका बताउँछन् । यहाँ कुमाले मोची जाति जिल्लाका जुकोट, पाण्डुसेन, बाह्रबिसे ब्रमतोला, कुल्देवमान्डौलगायत गाविसमा बस्दै आएका छन् । यस्तै काडार जाति वाई जुकोट साप्पाटामा पुर्खौंदेखि बस्दै आएका छन् । माटो र निगालाका भाडा बनाउने पेसा जिल्लामा रहेका कुमाले र कडारा जातिले मात्र गर्ने गरेका छन् । परिश्रम गरेजति फल नपाइने भएपछि उनिहरूले पेसालाई थाति राखेर कृषि र भारतका विभिन्न ठाँउमा नोकरी गर्ने गरेको स्थानीय व्यवसायी हंस मोचीले गुनासो गरेका छन् ।

बजारमा स्टिल, प्लास्टिक, तामा पित्तलजस्ता आधुनिक प्रविधिका भाडाकुँडा जिल्ला भित्रिन थालेपछि जिल्लाका कुमाले र कडारा जातिलाई जीवन बिताउन साह्रै गाह्रो परेको छ । बाबुबाजेको पालादेखि नै माटोका भाँडा बनाएर जीवन बिताउँदै आएका कुमाले र कडारा जातिलाई एकाएक आधुनिक बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि विदेश गएर होटलको भाँडा माझेर घरपरिवार पाल्नु मात्र विकल्प रहेको छ ।

आफ्नो पेसालाई नै चौपट पारेर विदेशिन बाध्य हुँदासमेत कतैबाट आधुनिक सीप विकाससम्बन्धी तालिमको व्यवस्था नभएको भन्दै उनीहरूले राज्य प्रति गुनासो राखे । कुमाले जातिले वर्षौंदेखि माटोका भाडा बनाएर छिमेकी जिल्ला हुम्ला, मुगु, कालीकोट अछामसम्म पुगेर बेच्ने गरेका थिए भने कडारा जातिले निगालाका डोका बनाएर आफ्ना साहुहरूलाई दिएर मानापाथी गरेर जीविकोपार्जन गर्दै आएका थिए । डोका निमार्णका लागि निगाला आवश्यक पर्ने हुँदा वनमा निगाला लोप हुँदै जाँदा यो समस्या देखापरेको हो ।

भाँडा उत्पादनका लागि पनि बलौटे माटो चाहिने हुँदा प्रायः माटो बाजुरा जिल्लाका केही भागमा मात्र पाइने गरेको छ । उनीहरूले माटाका सुल्पा, पानीखाने करुवा, तसला आदि बनाउने गरेका छन् । माटोका भाँडाहरू क्रिया काज र हिन्दू धर्ममा गरिने पूजापाठमा अनिवार्य आवश्यक पर्ने गर्दछ भने निगालाबाट बनेका डोका, खारे, कोठा निमार्ण गरी अन्न भित्र्याउने काममा प्रयोग गर्नुका साथै अन्न थन्क्याउनमा समेत प्रयोग गर्ने गरिन्छ । त्यस्तै माटोका भाँडा गर्मी याममा त धेरैले प्रयोग गर्ने गरेको पाइन्छ ।

माटोका भाडामा राखेको पानी फ्रिजकै जस्तो चिसो हुने र कसिंगर पनि माटोले सोस्ने भएका कारण पानी सफा रहन्छ । यी जातिका युवापिडीले पेसा प्रति उदासिनता देखाए पनि बुढापाकाहरूले भने कसैबाट तालिम लिएर पनि जोगाइ राख्ने इच्छा गरेका छन् । उसो त जिल्ला घरेलु विकास समिति र अन्य सरकारी तथा गैर सरकारी संघ सस्थाहरूले पनि महिना प्रत्येक व्यावसायिक तालिम सञ्चालन गरे पनि यीे पेसाप्रति भने कसैले पनि वास्ता गरेको पाइएको छैन ।

प्रतिक्रिया