काठमाडौं, १९ वैशाख । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राज्यको नीति नै स्वदेशमा रोजगार सिर्जना गर्नेभन्दा वैदेशिक रोजगारलाई प्राथमिकता दिने रहेकाले मुलुकको सम्बृद्धि हुन नसकेको बताएका छन् ।
१२७औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रले आइतबार आयोजना गरेको कार्यक्रममा उनले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग गठन गर्ने तर स्वदशी रोजगार प्रवद्र्धन बोर्ड गठन नगर्नुले राज्य जसरी हुन्छ युवालाई वैदेशिक रोजगारीमा पठाउने ध्याउन्नमा रहेको प्रष्ट हुने बताए ।
उनले बहुदल आएपछि स्वदेशमा रोजगारी घटेको तथ्यांक प्रस्तुत गर्दै भने, ‘ २०४९ सालसम्म उद्योगमा २ लाख २३ हजार मजदुर कार्यरत थिए, २२ वर्षपछि अहिले उद्योगमा काम गर्ने मजदुरको संख्या घटेर २ लाख ४ हजारमा सीमित भएको छ ।’
उनले मजदुरलाई शासक वर्गले सत्तामा पुग्न हतियारका रूपमा प्रयोगमात्रै गर्दै आएको टिप्पणी गर्दै अब मतियार बन्ने काम मजदुरले छोड्नुपर्ने धारणा राखे । पूर्वमन्त्री केशरबहादुर विष्टले नेपाली युवालाई जोखियुक्त कामका लागि वैदेशिक रोजगारीमा पठाएर राज्य आफ्नो दायित्वबाट पन्छिन खोजिरहेको बताए ।
महासंघका अध्यक्ष नवराज दाहालले मजदुरका माग सम्बोधन गर्न श्रम ऐन संशोधन र सामाजिक सुरक्षा ऐन तत्काल जारी हुनपर्नेमा जोड दिए ।
प्रतिक्रिया