संसदीय सुनुवाई समितिमा सभामुखको सक्रियता : जुटेन सहमति

onsari_gharti copyकाठमाडौं, १९ वैशाख । सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ विशेष समिति गठनको विषयमा सहमति जुटाउन प्रमुख ३ दलका शीर्ष नेतासँग सामूहिक रूपमा छलफल गरेकी छन् ।

सभामुख घर्तीले सत्तारूढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर संसदीय सुनुवाइ विशेष समितिका विषयमा छलफल गरेकी हुन् । उनले ३ दलका नेताहरूको मत बाझिएका कारण समिति गठनको विषयमा कुरा नमिल्दा नियमावली बनाउन ढिलो भएको र त्यसको असर प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूतको नियुक्तिमा परेको बताइन् ।

उनले ३ दल एक ठाउँमा नआए संविधानको कार्यान्वयन नै अप्ठेरोमा पर्ने भन्दै सहमतिका आधारमा नियमावली बनाउँदा काम गर्न सजिलो हुने बताइन् । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बसेर संसदीय सुनुवाइ समितिका बारेमा जवाफ दिने बताए । नियमावलीको विषयमा निर्णय गर्नका लागि नियमावली मस्यौदा समितिको बैठक सोमबार बोलाइएको छ । तिनै दलका नेताले त्यो बैठक पहिले नै आफूहरू एउटा निष्कर्षमा पुगिसक्ने बताएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

सभामुख घर्तीले नियमावली बनाउन ढिलो भएको विषयमा यसअघि तिनै दलका शीर्ष नेताहरूसँग अलगअलग रूपमा भेटवार्ता गरेकी थिइन् । संसद्ले नियमावलीको मस्यौदा बनाउन १ महिनाको समय दिएर समिति गठन गरेको ७ महिना पुग्न लागेको छ ।

प्रतिक्रिया