इटलीमा थप अधिकारी पक्राउ

रोम, १८ वैशाख । इटालीमा केही दिनयता देखि सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा थप अधिकारी पक्राउ परेको समाचार छ । इटाली सरकारले सुरु गरेको यस अभियानका क्रममा शुक्रबार थप सात जना पक्राउ गरिएको बताइएको छ । सरकारको यस कदमलाई तिब्रता दिँदै इटालीको प्रहरीले ती व्यक्ति पक्राउ गरेको हो ।

इटालीको प्रहरीले मङ्गलबार मात्र नौ जनालाई पक्राउ गरेको बताइएको थियो । इटालीको दक्षिणी प्रान्त नापेल्सबाट शुक्रबार साँझ ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो पटक पक्राउ परेका व्यक्ति उच्चपदस्थ सरकारी कर्मचारी रहेको समाचारमा जनाइएको छ ।

आर्थिक लेनदेनको मुद्दामा मुछिएका उनीहरूको कारबाहीका लागि त्यहाँको आर्थिक प्रहरीले अभियान थालेको हो । केही वर्षयतादेखि आर्थिक मन्दीमा परेको यस देशमा भ्रष्टाचार बढेको गुनासो व्यापक मात्रामा बढेको छ । जन गुनासो व्यापक मात्रामा बढ्न थालेपछि सरकारले पनि यो अभियान थालेको समाचारमा जनाइएको छ ।

यसरी पक्राउ पर्नेमा उद्योगी एवं व्यापारी पनि परेका समाचारमा उल्लेख गरिएको छ । सरकारी सम्पत्तिको ठेक्का पट्टाका साथै घुस खुवाएर उनीहरूले सरकारी कर्मचारीबाट काम लिने गरेका तथ्यहरू खुलेका बताइएको छ । सरकारले भ्रष्टाचारमा मुछिएको आशंका गरेका र अकुत सम्पत्ति आर्जन गरेकाहरूलाई निगरानीमा राखेर कारबाही थालेको हो ।

प्रतिक्रिया