काठमाडौं, १७ वैशाख । ‘तिम्ले मलाई छाडेको दिन त… दिउँसै सूर्य अस्तायो एक छिन त… के भनौँ र खोइ धोका दिनेलाई, के भनौँ र खोइ, तिमी हाँस भो मै बसौँला रोई … ।’
पछिल्लो समय कर्णप्रियताको शिखर चुमेको लोकगीतका हरफका रचनाकार सूर्यकुमार क्षेत्रीको भौतिक शरीर अब रहेन । तर उनका सिर्जनाले उनलाई सधैँसधैँ जीवन्त बनाइरहने छ । लोकप्रिय गीतका शब्दले भने जस्तै स्व. क्षेत्रीले आफ्नो जीवनको छोटो समयमा कहिल्यै रोएर बस्नु परेन बरु आफू हाँसेरै गए र आफ्ना शुभचिन्तकलाई दुःखित बनाए ।
‘के भनौँ र खोइ’ नामक गीतिसंग्रहमा शब्द भरेका चर्चित गीतकार तथा सञ्चारकर्मी क्षेत्रीको ३३ वर्षको अल्पायुमै बिहीबार भएको निधनले गीतसंगीत र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पु¥याएको छ ।
युवा गायक राजु परियार, कस्तुप पन्त र विष्णु माझीले गाएको ‘धोका दिनेलाई के भनौँ र खोइ…’ बोलको गीत क्षेत्रीको जिन्दगीसँग मेल खायो आखिर धोका दिने जिन्दगीले उनलाई कहिल्यै नफर्किने गरी बिहीबारदेखि छाडेर गइगयो ।
उनी ‘धानको सिरांँला, दुःख पर्दा लाएको गुनैको पैँचो तिरौँला …’, ‘ग¥यौ घात रितैको साथ, न्यानो देख्यौ पराइको त्यो साथ, औँठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छ …’, जस्ता अनगिन्ती चर्चित गीतका सर्जक थिए ।
वन पखेरामा गुनगुनिने स्थानीय लोकभाकालाई टपक्क टिपेर आफ्नो लोकगीतमा ढाल्न खप्पिस लोकगीत संकलक क्षेत्रीको बेजोड प्रतिभाले उनलाई आज सांगीतक आकाशको उचाइमा पु¥याएको त छ नै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिकाले पनि उनलाई अविष्मरणीय बनाएको छ ।
क्षेत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न प्रज्ञा भवन कमलादी पुगेका भावुक मुद्रामा देखिने अग्रज तथा समकक्षी कलाकारको गला अवरुद्ध थियो र आँखा रसाएका थिए । क्षेत्रीका बारे शब्द धेरै थिए तर तिनले व्यक्त गर्न सकिरहेका थिएनन् । कलाकार, पत्रकार राजनीतिज्ञ तथा सर्वसाधारणको आँखा रसाएका थिए ।
निकै भावुक मुद्रामा वरिष्ठ लोकगायिका विमाकुमारी दुराले मौलिक लोक गीतसंगीतका खानी युवा कलाकारको निधनले आफूहरूलाई मर्माहित भएको बताएन् । क्षेत्रीले गीतसंगीत र पत्रकारितामार्फत समाज परिवर्तनमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउन राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
लोक गायिकाद्वय लक्ष्मी न्यौपाने र शर्मिला गुरुङले लोकसंगीत मात्र नभई पत्रकारिताका मूर्धन्य व्यक्तिको निधनले देशलाई नै क्षति पुगेको बताए । हास्य शृंखला ‘मेरी बास्सै’का मुख्य कलाकार सीताराम कट्टेलले पत्रकारिता मात्र नभई चर्चित कलाकारका रूपमा परिचित क्षेत्रीको निधनले आफूहरू शोकमा डुबेको बताए । ‘कर्मशील सर्जकको निधनले दुःख लागेको छ, मेरो नजिकका मित्र क्षेत्रीले मेरी बास्सैमा पनि धेरैसल्लाह दिनुभएको थियो, उहाँको निधनले म भक्कानिएको छु,’ उनले भने ।
उनीसित सान्निध्य गरेका गीत तथा संगीतकार एकनारायण भण्डारीले क्षेत्रीको निधनले नेपाली लोकसंगीतको क्षेत्रमा ठूलो असर परेको बताए । उनले लोकसंगीतलाई नजिकबाट नियाल्ने र सटिक ढंगले प्रस्तुत गर्ने क्षेत्री यस क्षेत्रमा भएका विकृतिलाई उजागर गर्न सक्ने प्रखर व्यक्तित्व भएको बताए । क्षेत्रीले ५० भन्दा बढी चर्चित लोकगीत संकलन गर्नाका साथै त्यत्तिकै संख्यामा आधुनिक गीत पनि लेखेका छन् । उनका आधा दर्जन एकल एल्बम पनि छन् ।
क्षेत्रीका प्रायः चर्चित गीतमा नृत्य निर्देशन गरेका कलाकार शंकर बिसी असाध्यै राम्रो शब्दका खानी क्षेत्रीको निधनले संगीत क्षेत्रले होनहार प्रतिभा गुमाएको बताउछन् । क्षेत्रीको लोकप्रिय ‘धोका दिनेलाई के भनाँै र खोइ…’ बोलको गीत गाएका राजु परियारले भावुक मुद्रामा भने, ‘शब्दमा धेरै बयान गर्न सक्दिन तर हामीले एउटा कमलको थुँगा भुइँमा झरेर कुल्चेर हिँडेको अवस्था रह्यो लोकसंगीतका लागि ।’
क्षेत्री जीवनको अन्तिम घडीमा ‘हातमा सुनको चुरा लाउनेले… यति चोखो पिरती छुटायौ पँधेरीमा कुरा लाउनेले…’, गीतिसंग्रह निकाल्ने तयारी गर्दै थिए तर अधुरै रह्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीले क्षेत्री गीतसंगीत, पत्रकारिता र राजनीतिक क्षेत्रमा चर्चित व्यक्तित्व भएको उल्लेख गरे ।
प्रतिक्रिया