तत्काल एकता हुनुपर्छ : थापा

काठमाडौं, १६ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापाले उत्पीडित, पिछडिएका वर्गको अधिकार संरक्षण तथा उनीहरूको मुक्तिका लागि माओवादीबीच तत्काल एकता हुनुपर्ने बताएका छन् ।

फाल्गुनन्द लिंदेन फिल्मस् प्रालिले बिहीबार आयोजना गरेको ‘सम्मान घोषणा तथा वितरण’ कार्यक्रममा उनले नेपालका माओवादी आधा दर्जनभन्दा बढी संख्यामा विभाजित हुनाले उपेक्षित र उत्पीडित समुदायको अधिकार स्थापित हुन नसकेको तथा जनताको लामो संघर्षपछि संविधानसभाबाट संविधान जारी भएको भए पनि त्यसले विपन्न वर्गका अधिकारको सम्बोधन गर्न नसकेको विचार व्यक्त गरे । महासचिव थापाले भने, ‘नयाँ संविधानले महिला, दलित, आदिवासी जनजाति तथा मधेसी समुदायको अधिकारलाई स्थापित गर्न सकेन, संविधानले महिलाको अधिकार पूर्ण रूपमा स्थापित गर्न सकेको छैन, अब माओवादी शक्ति तथा राष्ट्रवादी शक्तिबीच छिट्टै एकता गर्नुपर्छ ।’

त्यसैगरी बिहीबार नै एमाओवादीको स्थायी समिति बैठकमा पनि माओवादी पार्टीबीच एकताको विषयमा छलफल सुरु भएको बताइएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ । बैठक शुक्रबार पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया