६ वटा अफ्रिकी मुलुक मलेरियामुक्त हुने : डब्ल्युएचओ

जेनेभा, १३ वैशाख । अफ्रिकाका ६ वटा मुलुक आगामी सन् २०२० सम्ममा मलेरिया मुक्त हुने भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालै गरेको सर्वेक्षणमा सो अवस्था देखिएको उक्त संगठनले जानकारी दिएको हो । मलेरियाको निकै ठूलो प्रकोप रहेका ती देशमा यसको निराकरणका लागि कयौँ प्रयास भएका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०३० सम्ममा विश्वका कम्तीमा पनि १० देशमा मलेरिया उन्मूलनको घोषणा गर्ने कार्यक्रम रहेको छ । त्यस कार्यक्रममा अफ्रिकी देशहरू पनि परेका छन् । साथै विश्वका कम्तीमा पनि २१ देश पनि यस्तो कार्यक्रम घोषणाको लगभग अन्तिम तयारीमा छन् ।

यी छ देशमा अल्जेरिया, बोत्सवाना, केप भर्दा, कोमोरस, दक्षिण अफ्रिका र स्वाजिल्यान्ड रहेका छन् । अफ्रिकामा पनि यी ६ वटा देशमा मलेरियाको निकै ठूलो प्रकोप रहेको थियो । सो प्रकोपका कारण पनि उक्त क्षेत्रमा उक्त संगठनले रोग नियन्त्रणको अन्तिम तयारी गरिरहेको जनाएको हो ।

दक्षिण अफ्रिकामा मात्र गतवर्ष करिब १२ हजार मलेरियाका रोगीको संख्या दर्ता भएको थियो । यो संख्या विगतका वर्षहरूको तुलनामा घटेको हो । सन् २००० मा सो संख्या कम्तीमा पनि ६४ हजार रहेको थियो ।

विश्व स्वास्थ्य संगठनले हालै मात्र प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनमा भनेको छ, ती अफ्रिकी देशहरूको सीमामा भएको समन्वयात्मक कामका कारणले गर्दा आगामी ४ वर्षमा मलेरियाको उन्मूलनको घोषणा गर्नसक्ने अवस्था बनेको छ ।

प्रतिक्रिया