वसन्तपुरका सांस्कृतिक सम्पदा पुनर्निर्माण सुरु

काठमाडौं, १३ वैशाख । गतवर्ष गएको भूकम्प एवं पटकपटकको परकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनर्निर्माण बल्ल सुरु भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आयोजित कार्यक्रममा वंशगोपाल मन्दिर पुनर्निर्माणको शुभारम्भ गर्नु भई वसन्तपुरका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा बनाउने अभियान सुरु गरेका हुन् ।

पुनर्निर्माणको शुभारम्भ गर्दै नेता पौडेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदा एवं जनताको घर निर्माण गर्न सरकारले तदारुकता दिन नसकेको बताएका छन् । उनले सरकारले पुनर्निर्माण सुरु गर्न ढिलाइ गर्दा दाताले दिएको अनुदान फिर्ता जाने खतरा बढेको पनि बताए । उनले भने, ‘१ वर्षसम्म सरकारले पुनर्निर्माणको काम अघि बढाउन सकेन, यसबाट सबैमा निराशा छाएको छ ।’

कार्यक्रम पछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद नवीन्द्रराज जोशीले पुनर्निर्माण सुरु गरिएका सांस्कृतिक सम्पदाको मौलिकता नबिगारी बनाइनुपर्ने माग गरेका छन् । ‘पुरातात्विकस्थल निर्माणमा प्रयोग हुने काठ ठेकेदारले ल्याएमा राम्रो नआउन सक्छ, सरकारले नै ल्याएर दिएमा मात्र पुरानै स्वरूपमा सम्पदाको पुनर्निर्माण हुनसक्छ ।’ काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सांस्कृतिक सम्पदाको पुनर्निर्माण पुरानै स्वरूपमा गरिने प्रतिबद्धता जनाए । भूकम्पमा पूर्णक्षति भएका १ सय ४ सम्पदामध्ये ४९ सम्पदा पुनर्निर्माणका लागि ठेक्का गरी सोमबारबाट काम सुरु गरिएको पुरातत्व विभागले जनाएको छ ।

सोमबार वसन्तपुरको वंशागोपाल मन्दिरसँगै स्वयम्भूको अनन्तपुर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवं लायकू दरबारको ढोका पुनर्निर्माणको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया