२ वर्षमा १७ हजार व्यक्ति बेचिए : आयोग

काठमाडौं, १३ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो २ वर्षमा १६ देखि १७ हजार व्यक्ति बेचबिखनमा परेको बताएको छ ।आयोगले सोमबार मानव बेचविखनसम्बन्धी सातौँ प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बर्सेनि ८ हजारदेखि ८ हजार ५ सयका दरले २ वर्षमा १६ देखि १७ हजार व्यक्ति बेचबिखनमा परेको बताएको हो ।

आयोगका अनुसार यो २ वर्षको अवधिमा १८ देखि १९ हजार व्यक्तिलाई बेचबिखनको प्रयास गरिएको थियो । आयोगले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूसँग रहेको तथ्यांकका आधारमा बेचबिखनमा परेका व्यक्तिको संख्या सार्वजनिक गरेको हो । आयोगले गतवर्षको भूकम्पपश्चात विशेष गरी महिला तथा बालबालिकाहरूको बेचबिखन बढेको बताएको छ । भूकम्पपश्चात बेचबिखन तथा ओसारपसारको क्रम १५ देखि २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पपछिको ३ महिनाको अवधिमा मात्र १ हजार २ सय ३३ जना महिला तथा बालबालिका हराएका व्यक्तिको सूचीमा परेका छन् । ती मध्ये १ सय ६१ जनाको मात्र उद्दार भएको छ । आयोगले विवाहको वाहनामा समेत महिलाहरूको बेचबिखन मौलाएको बताएको छ । सन् २००५ देखि १०१३ को अवधिमा १ हजार महिला विवाह गरेर कोरिया पुगेको र ती मध्ये ७ सय महिला विवाहको बहानामा बेचिएका कारण उनीहरू अहिले दासतापूर्ण जीवन बिताउन वाध्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले विवाहको बाहना तथा रोजगारीको प्रलोभनमा भइरहेको बेचबिखन रोक्नका लागि कानुनमा संशोधन गरेर दोषीमाथि कडा सजाय दिने व्यवस्था गरिनुपर्ने बताइन् । उनले वैदेशिक रोजगारीमा जानेहरूलाई कम्तीमा ३ महिनाको तालिम दिने र तालिमका बारेमा अनुगमन गर्ने व्यवस्था गरिनुपर्ने पनि बताइन् । संगठित गिरोहले निरक्षर र अविवाहितहरूलाई झुठा आश्वासन देखाएर दिउँसोको समयमा भारत र तिब्बततर्फबाट बेचबिखन गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले बेचबिखन न्यूनिकरणका लागि भारत तथा चीनसँगका सबै नाकाहरूमा सीमा निगरानी केन्द्रहरू स्थापना गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया