इसिडिसी ह्विलचियर तेक्वान्दोको ग्रेडिङ सम्पन्न

ecdc wheel chair gradingकाठमाडौं, ११ वैशाख । नेपालमा पहिलोपटक ह्विलचियर तेक्वान्दोको गे्रडिङ सम्पन्न भएको छ । इसिडिसी तेक्वान्दो डोजाङद्वारा सञ्चालित ह्विलचियर तेक्वान्दोका कुल ८ खेलाडीको ग्रेडिङ सम्पन्न भएको हो ।

भण्डारखालस्थित राधाकृष्ण मन्दिरमा भएको ग्रेडिङमा ह्विलचियरबाटै खेलकौशल प्रस्तुत गर्दै शारीरिक रूपमा अशक्त ८ खेलाडीलाई डबल प्रमोसन प्राप्त गरे । डबल प्रमोसनसँगै उनीहरूले सेतो पेटीबाट पहेँलो हरियो पेटी प्राप्त गरे । पेटीको डबल प्रमोसन प्राप्त गर्ने खेलाडीमा हिमाल अर्याल, विष्णु अधिकारी, फनि नारायण, राजु कटुवाल, विवेक चौधरी, नरबहादुर दाहाल, सुरेश पार्दे र महेश्वर थापा छन् । उनीहरूलाई पारा तेक्वान्दोका प्रशिक्षकसमेत रहेका यादव कुँवर र कल्यान कुँवरले ग्रेडिङ प्रदान गरेका थिए । प्रशिक्षक यादव विश्व पारा तेक्वान्दोमा रजत र कांस्य पदक विजेता खेलाडी हुन् । ह्विलचियरमा रहेका २ खेलाडीबाट ७ महिनाअगाडि सुरु गरिएको तालिममा हाल कुल १० ह्विलचियरका खेलाडी प्रशिक्षणरत छन् ।

इसिडिसिको शाखा डोजोले गरेको ह्विलचियर ग्रेडिङमा हिमाल अर्याल उत्कृष्ट चुनिए । यसअघि इसिडिसीमा नै प्रशिक्षण गरेका ३ पारा तेक्वान्दो खेलाडीले फिलिपिन्सको मनिलामा भएको दोस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा १ रजत र २ कांस्य पदक हात पारेका थिए । ग्रेडिङपश्चात प्रशिक्षक कल्यानले ह्विलचियरमा नै रहे पनि उनीहरूले खेलकुदबाट देशको लागि केही योगदान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरे । त्यस्तै अर्का प्रशिक्षक यादवले ह्विलचियरका खेलाडीहरूको उत्साहले अन्यलाई पनि हौसल मिल्ने बताए ।

प्रतिक्रिया