पेरिस सम्झौतामा १ सय ७५ राष्ट्रको हस्ताक्षर

पेरिस, ११ वैशाख । विश्वका १ सय ७५ राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्रीहरू, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसंघको सभा हलमा शुक्रबार पंक्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाउँदै विश्वव्यापी जलवायु परिवर्तनको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरूको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सबै देशले प्रतिवद्धताअनुरूप सम्झौतालाई कार्यान्वयनमा ल्याउनका लागि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेमा छिट्टै जलवायु समस्याले निम्त्याएका विद्यमान समस्यालाई कमी गर्न सकिनेछ । सम्झौता लागू हुन मानव क्रियाकलापका कारण उत्सर्जन हुने हरित गृह ग्यासका लागि जिम्मेवार ५५ प्रतिशत अर्थात् (५५ देशले) यसलाई अनुमोदन गर्नुपर्नेछ ।

संयुक्त राज्य अमेरिका, चीन, फ्रान्सलगायत केही देशले यसैवर्ष सम्झौतालाई अनुमोदन गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

भावी पुस्ताको भविष्यसँग जोडिएको जलवायु सम्झौतामा हस्ताक्षर गर्न भएको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले हस्ताक्षरकर्ता देशले आ–आफ्नो मुलुकको संसद्बाट यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन सहयोग गर्नेमा विश्वास गरेका छन् ।

यस्तै महासभाका राष्ट्रसंघ अध्यक्ष मोगेन्स लिकिटफले सम्झौता गराउन राष्ट्रसंघ महासचिव वानलगायत विश्वभरका नेताहरूले खेलेको अथक भूमिकाको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया