सिन्धुपाल्चोकको रमणीय पर्यटकीयस्थल हो हेलम्बू । समुद्र सतहबाट ७ हजार ५ सय फिट उचाइमा रहेको हेलम्बू ह्योल्मो जातिको मुख्य बासस्थान रहेको बस्ती हो । त्यस्तै, किउल गाविसमा पर्ने ह्योल्मो जातिको मुख्य बासस्थान रहेको बस्ती शेर्माथाङ पनि उत्तिकै मनमोहक थियो । ०७२ साल वैशाखको भूकम्पले भने हेलम्बू र शेर्माथाङको अस्तित्व नै सखाप पा¥यो । सयौँको ज्यान गयो भने हजारौँ घाइते भए । बाह्रैमास चिसो हावा चल्ने उक्त बस्तीका भूकम्पपीडित भने अझै टहरामा नै आफ्नो जीवन गुजारा चलाउन बाध्य छन् ।
भूकम्प गएको १ वर्ष भित्रमा वर्षा, हिउँ, हावाहुरी, पहिरो, शीतसँगको कठिन तथा टिनको छाप्रोमुनिको अत्यन्तै कष्टप्रद क्षण सरकारले पुनर्निर्माणको गति अगाडि बढाउन नसकेकाले ०७३ साल पनि कष्टका साथ बिताउनुपर्ने निश्चित देखिएको शेर्माथाङका स्थानीयवासी कर्मतोप्य ह्योल्मोले बताए ।
हिमालको काखमा रहेको शेर्माथाङ हिमालको नजिक भए पनि पहिलेको तुलनामा पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक भने त्यति आकर्षित भएको देखिँदैन । भूकम्पपछि यहाँका धेरैजसो गुम्बा खण्डखरमा परिणत भए । यो हिमाली गाउँमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित नभएपछि स्थानीयवासीमा चिन्ता बढेको छ । पर्यटकीय पदयात्राका लागि पनि शेर्माथाङ र हेलम्बू चर्चित छन् । गाउँमा एक दर्जनजति होटल र रेस्टुरेन्ट छन् । भूकम्पका कारण भत्किएका भए पनि अधिकांश होटल पुनर्निर्माणपछि सञ्चालनमा आएको हेलम्बूका पूर्वगाविस अध्यक्ष पासाङ ह्योल्मोले बताए । गत भदौदेखि पुससम्ममा स्वदेशी÷विदेशी गरी एकै दिन यहाँ डेढ सयसम्म पदयात्री आउने गर्दथे । पर्यटकको बसाइँलाई अविस्मरणीय बनाउन थप होटल, रेस्टुरेन्ट र बौद्ध गुम्बा निर्माण गरे पनि भूकम्पले सखाप बनायो, गुम्बा बनाउन र पुनर्निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सम्पूर्ण हेलम्बुवासीको माग छ ।
भूकम्पपछि शेर्माथाङ, मेलम्ची घ्याङ, तार्केघ्याङलगायत गुम्बा, माने र घ्याङको अवलोकन गर्न सकिने मनै लोभ्याउने संस्कृति र परम्पराको केन्द्र रहे पनि यहाँ हाल पर्यटनको विकास निकै निराशापूर्ण छ । भूकम्पले यहाँका ऐतिहासिक सम्पदामा निकै क्षति पु¥यायो, गुम्बाको अस्तित्व नै मेटायो । पर्यटकीयस्थलका गुम्बाको पुनर्निर्माणमा सरकारले छिट्टै ध्यान नपु¥याउने हो भने पर्यटकीय सम्भावनासमेत घट्ने निश्चित छ ।
भूकम्पपछि वर्षा र आँधीको सामना गरिरहनु परेको र यस्तो दयनीय अवस्थामा सरकारको ढिलासुस्तीले भूकम्पपीडितलाई समस्यामाथि समस्या थपिँदै गएकाले छिट्टै पुनर्निर्माणको काम सकेर पीडितको स्थायी घरमा बस्ने सपना पूरा गर्न सरकारले छिटो गति लिनुपर्ने मेलम्चीका स्थानीयवासी धिरेन गुरुङले बताए ।
भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा नै पुनर्निर्माणको कामले गति लिन नसक्नु जस्तो सरकारका लागि लज्जास्पद कुरा अरू केही नहुने मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
भारी बोकेर गुजारा गर्नेहरू…
सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे यस्तो गाउँ हो जहाँका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार यसबेला हिमाल चढ्न गाउँका ५० भन्दा बढी युवा निस्किएका छन् ।
सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् ।
‘हिमालको काम एकदमै खतरा छ, कुन बेला के हुन्छ केही ठेगान छैन, कमाउने माध्यम केही छैन, अनि हिमाल नगएर कसरी परिवार पाल्नु र ?’, तीनपटक सगरमाथाको शिखर चुमेका फोर्चेकै आङछिरिङ शेर्पाले भने ।
यहाँ सामान्य चामलको प्रतिकेजी २ सय ३० रुपैयाँ पर्छ । नुन पनि १ केजीको १ सय ८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ । महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एकपटक हिमाल चढेर पाएको करिब ३ लाख रुपियाँले वर्षभिर परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेहरूले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाई भने निकै कम हुन्छ ।
प्रतिक्रिया