निःशुल्क ब्युटिसियन तालिम

धनकुटा, ९ वैशाख । धनकुटामा बिहीबारदेखि निःशुल्क ३ महिने ब्युटीसियन तालिम सुरु भएको छ । सौन्दर्यतासम्बन्धी सीप प्रदान गरेर युवतीहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले ‘सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ तालिम सुरु गरिएको हो ।

जिल्ला विकास समिति र धनकुटा नगरपालिकाको सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय र घरेलु तथा साना उद्योग महासंघ धनकुटाले संयुक्त रूपमा तालिमको आयोजना गरेका हुन् । तालिममा धनकुटा सदरमुकामसहित विभिन्न स्थानका ५० जनाभन्दा बढी युवती सहभागी छन् । तालिममा ब्युटीपार्लर व्यवसायी एवं प्रशिक्षक दुर्गा निरौलाले सहभागीहरूलाई सौन्दर्यतासम्बन्धी सीप प्रदान गर्दैछिन् ।

यसैबीच तालिम उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाल, नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धिताल, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख दीपक पौडेल, कांग्रेस सभापति अग्नी पौडेल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष विजय सन्तोषी राई, उद्योग वाणिज्य संघका कोषाध्यक्ष रोषेश श्रेष्ठ र प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेलाले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया