धनुषा, ८ वैशाख । गत १६ दिनदेखि प्रहरी हिरासतमै आमरण अनसनमा रहेका सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर ४ का निर्वाचित सांसद सञ्जय साहलाई अस्पताल भर्ना गरिएको छ ।
जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको अभियोग लागेका नेता साहलाई विहीबार अस्पतालमा भर्ना गरिएको हो । जनकपुर बमकाण्डको अभियुक्तसमेत रहेका साह सो मुद्दाको पुर्पक्ष गर्न २ वर्षदेखि कारागारमै छन् ।
फेरी सिंघानियाको हत्या पनि उनकै योजनामा भएको प्रहरीले अभियोग लगाएपछि आफ्नो विपक्षीको प्रभावमा प्रहरीले षडयन्त्रपूर्वक आपूmलाई हत्यारा सावित गर्न लागिपरेको भन्दै साहले थुनाभित्रै अनसन सुरु गरेका थिए ।
गत २३ चैतमा जनकपुर ल्याइएका साहले प्रहरी परिचालित भएको जस्तो व्यवहार गरिरहेको भन्दै त्यसको भोलिपल्टदेखि नै थुनाभित्र भोकहड्ताल सुरु गरेका हुन् । व्यक्तिको दबाब र प्रभावमा कानुनको धज्जी उड्ने मुलुकमा जिउनुभन्दा मर्नु वेश भन्दै उनले अनसन सुरु गरेका उनी निकटहरू बताउँछन् ।
बुधबार बयानको लागि अदालतमा पेस गरिएका साहको स्वास्थ्य अवस्था निकै नाजुक देखिएपछि अदालतले तत्काल उपचारको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन गरेको थियो । अदालतको निर्देशनपछि जनकपुर अञ्चल अस्पताल लगिएको उनलाई पूरा उपचार नहुँदै फर्काएर लान खोजेपछि चिकित्सकले केही हुँदा अस्पताल जवाफदेही नहुने चेतावनी दिएपछि बाध्य भएर प्रहरीले भर्ना गर्न सहमत भएको थियो । अस्पतालमा समेत सञ्चारकर्मीलाई साहसँग भेट्न कडा प्रतिबन्ध लगाएको प्रहरीले प्रसूतिवार्डको अप्रेसन गरी भर्ना गरिने क्याबिनमा राखेर उपचारको व्यवस्था मिलाएको छ ।
उनको स्वास्थ्यस्थिति नाजुक रहेको भन्दै उपचारमा संलग्न जनकपुर अञ्चल अस्पतालका मेसु डा.प्रमोद यादवले केही दिनसम्म चिकित्सकको प्रत्यक्ष रेखदेखमा राख्नुपर्ने जनाएका छन् । उनका अनुसार रक्तचाप घटेको र शरीरमा पानीको कमीले किडनीमा खतरा बढेको छ ।
यता, ७ दिनदेखि आमरण अनसनमा बसेकी साहकी पत्नी रंगीलादेवीको स्वास्थ्यस्थिति पनि निकै कमजोर भएको छ । सिंघानिया हत्या मुद्दामा न्यायिक समिति गठनलगायत ५ सूत्रीय माग राखेर गत २ वैशाखबाट आमरण अनसनमा बसेकी उनको शरीरमा पनि डिहाइड्रेसन र लो ब्लडप्रेसरको समस्या देखिएको ४ दिनदेखि निरन्तर उपचार गरिरहेका डा.रामदेव चौधरीले जानकारी दिए ।
प्रतिक्रिया