कविता र नारायणप्रसादबीच यौगिक विवाह

yougig biheकाठमाडौं, ८ वैशाख । नेपाली समाज यौगिक विवाह वारे अनभिज्ञ नै छन् । मागी, भागी, प्रेम र यस्तै अन्य विवाह सुनेको देखेको भए पनि यौगिक विवाह कमैले सुनेका होलान् ! अब भने नेपाली समाजमा नसुनिएको यो ‘यौगिक’ विवाह पनि सुरु भएको छ ।

कोटेश्वरस्थित कोटेश्वर महादेव मन्दिरमा बुधबार वर नारायणप्रसाद भट्टराई तथा बधू कविता ढुंगानाले यौगिक विवाह सम्पन्न गरेका छन् । नेपाली समाजमा खर्चिलो बन्दै गएको विवाहले पुराना सांस्कृतिक पक्षलाई कमजोर बनाउँदै गएको अवस्थामा सो विवाह प्राचीन मूल्यमान्यतलाई अवलम्बन गरिएको संक्षिप्त विवाह थियो । विश्व दर्शन अभियानले व्यवस्था मिलाएको सो विवाह समारोहमा पण्डित फणीन्द्रप्रसाद भट्टराईले स्वस्तिशान्ति वाचन गरेपछि विवाह प्रारम्भ भएको थियो । त्यसपछि बेहुला तथा बेहुलीका अभिभावकले पानसमा संयुक्तरूपमा बत्ती बालेर वर र बधूलाई टीका लगाइदिएका थिए । लगत्तै वर र बधूले एकअर्कासँग औँठी साटासाट गरे र रुद्राक्षको माला लगाइदिए ।

विवाहको प्रक्रिया पूरा गर्दै जाँदा वर, बधू तथा कार्यक्रममा सहभागी सबैले ध्यानसमेत गर्ने अवसर प्राप्त गरेका थिए । सो कार्यक्रम समाजमा चलिआएको भन्दा अलि फरक पाइन्थ्यो । केही बेर ध्यान कार्यक्रम भयो । ध्यानमा सहभागी सबैलाई शान्तिको अनुभवसमेत गराइयो ।

विवाहको कार्यक्रम चलिरहँदा बीचबीचमा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई विवाहका बारेमा दृष्टिकोण राख्न समय निर्धारण गरिएको थियो । सो समारोहलाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सो विवाहमा वैदिक परम्पराका मान्यता ग्रहण गरिएको र फजुल खर्च कटौती भएकाले पनि समाजका लागि आदर्श भएको बताए । दीप, कलश, गणेश, नवग्रह, षोडश, मातृका र अग्नि पूजासमेत गरिएको थियो । सो समारोहमा पुष्प गुच्छा वर्षाइएको थियो । धर्मोदय सभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराई र साहित्यकार सुलोचना मानन्धरले वैवाहिक जोडीलाई बधाई दिँदै प्राचीन मान्यता तथा सांस्कृतिक महत्वलाई कायम राख्दै समाजमा सबैलाई सहज हुने कार्यको विकास भएकामा त्यसलाई सबैले अनुकरण गर्ने बताए ।

यसैबीचमा वर र बधूले संयुक्तरूपमा विश्व दर्शन अभियान तथा आश्रम बनाउन कोषलाई १ लाख सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया